काठमाडौँ । स्याङजाको फेदीखोला गाउँपालिका कोदोका परिकारको प्रवद्र्धनमा केन्द्रिक बनेको छ माटोको मायाँ र किसानको पसिनाको सम्मानका लागि पालिकाले ‘आलीदेखि विद्यालयको थालीसम्म’ कोदोको परिकार उपलब्ध गराउने अभियानको थालनी गरेको हो ।
जस अनुसार गाउँपालिकाले विद्यालय पोषण कार्यक्रम अन्तर्गत हप्ताको दुई दिन कोदोको परिकार खुवाउन अनिवार्य गरेको छ भने गाउँपालिकाको चमेना गृहले पनि साताको एकदिन कोदोको परिकार खुवाउनुपर्ने भएको छ ।
साउन १६ गते पर्ने राष्ट्रिय कोदो दिवसदेखि सो निर्णयलाई कार्यान्वयन गर्ने गरी तयारी भइरहेको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । सरकारले प्रथम राष्ट्रिय कोदो दिवस सोही दिन मनाउने निर्णय गरेको छ । त्यसो त गाउँपालिकाले कक्षा ६ को स्थानीय पाठ्यक्रममा ‘हाम्रो फेदीखोला’ अन्तर्गत ‘कोदोः बहुपयोगी खाद्यान्न’ शीर्षकको पाठ २०७७ सालदेखि विद्यार्थीलाई पढाउँदै आएको छ ।
यसैगरी, कोदो उत्पादनमा समेत जोड दिन पालिकाले १६ गते फेदीखोला गाउँपालिका –१, रामकोटमा कोदो रोपाइँको आयोजना गरेको छ । सोही अवसरमा कोदोबाट उत्पादित विभिन्न परिकारको प्रदर्शनी, यसको बहुउपयोगका बारेमा जानकारी गराइने पालिकाले जनाएको छ ।
विद्यालय पोषण कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयमा हप्तामा दुई दिन कोदोबाट निर्मित परिकार (ढिँडो, मम, तावा रोटी, पुवा, सेलरोटी, कोदोको चिउरा, हलुवा, सुप) लगायतका दिवा खाजाका रूपमा उपलब्ध गराउने निर्णय गरेको पालिकाका अध्यक्ष सुवेदीले जानकारी दिए ।
उनका अनुसार बहुउपयोगी, पोषणयुक्त र स्थानीय खाद्यान्न कोदोको प्रवद्र्धन र संरक्षण गर्नुका साथै स्वस्थ्यकर जीवन जिउने उद्देश्यले पालिकाले सो निर्णय गरेको हो ।
गाउँपालिकाले कोदो उत्पादन, प्रवद्र्धन र उपयोगमा प्राथमिकता दिँदै गाउँपालिका मातहतका विद्यालय, वडा कार्यालय, चमेना गृह, सभा–सेमिनार स्थलहरूमा कोदोबाट बनेका परिकारहरूलाई प्राथमिकता दिई अनिवार्य रूपमा प्रयोग गर्ने गराउने निर्णय गरेको छ। चमेना गृहले भने साताको एक दिन कोदोको परिकार खुवाउनुपर्ने भएको छ ।

