यसअघि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गढ मानिने काभ्रेमा यसपटक फरक दृश्य देखिएको छ । पार्टीको जिल्ला अधिवेशनदेखि नै कमजोर बन्दै गएको ओली पक्षलाई युवा संघको अधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षले धक्का दिएको छ ।
युवा संघ काभ्रेपलाञ्चोकको ११औँ जिल्ला अधिवेशनमा प्रदेश अध्यक्ष हरिशरण जमकट्टेल र जिल्ला इन्चार्ज सागर रायमाझीको निर्देशनलाई समेत बेवास्ता गर्दै विद्या भण्डारी पक्षले एकपक्षीय कमिटी घोषणा गरेको छ । यस क्रममा दुई पक्षबीच विवाद चर्किएको छ ।
अधिवेशनले सीबी लामाको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ। उपाध्यक्षमा रमेश बुढाथोकी, सचिवमा अमन धिताल र कोषाध्यक्षमा शिवप्रसाद ढुंगेल लगायतका पदाधिकारी रहेका छन्।
यसलाई अवैधानिक भन्दै ओली पक्षले आपत्ति जनाएको छ । युवा संघका उपाध्यक्ष रुपक रायमाझीले केन्द्र र प्रदेश कमिटीको निर्देशनविपरीत अधिवेशन गरिएको भन्दै यसले प्रतिनिधित्व र भौगोलिक सन्तुलनलाई ध्यान नदिएको आरोप लगाएका छन् ।
भण्डारी पक्षले भने जिल्लाका १३ वटा पालिकामध्ये १२ वटा पालिकाका प्रतिनिधिहरूको सहभागितामा अधिवेशन सम्पन्न भएको बताएको छ ।
यस अधिवेशनमा एमालेका केन्द्रीय नेताहरू गोकुल बास्कोटा र राजन भुर्तेल लगायतका नेताहरू विद्या भण्डारीको पक्षमा देखिएका छन् भने रेशम लामा र बागमती प्रदेशका पूर्वमन्त्री चन्द्र लामा लगायतका नेताहरू ओलीको पक्षमा उभिएका छन् । यसले एमाले काभ्रेमा पार्टीभित्रै गहिरो विभाजनको संकेत गरेको छ ।

