काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धविरामको ‘नाटक’ गरिरहेको आरोप लगाएका छन्।
अगस्ट १५ मा पुटिनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन युद्ध अन्त्यबारे छलफल गर्ने तयारी गरिरहेका छन्। तर यस बैठकमा जेलेन्स्कीलाई निमन्त्रणा दिइएको छैन।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै जेलेन्स्कीले भनेका छन्, “आज मैले गुप्तचर र सैन्य कमान्डबाट प्राप्त रिपोर्टबाट पुटिनको वास्तविक योजना बुझें। पुटिन न युद्धविरामको तयारी गर्दैछन्, न युद्ध अन्त्यको।”
उनका अनुसार पुटिन अमेरिकासँगको बैठकलाई आफ्नो व्यक्तिगत विजयका रूपमा देखाउन चाहन्छन् र त्यसपछि पनि युक्रेनमाथि दबाब जारी राख्ने योजनामा छन्।
जेलेंस्कीले उल्टै पुटिन युक्रेनमा नयाँ आक्रमणका लागि सेना तैनाथ गरिरहेको दाबी गरेका छन्। “यदि कोही शान्तिका लागि तयारी गर्छ भने, उसले यस्तो गर्दैन,” उनले भने।

