पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै काठमाडौंको शंखमूलस्थित एक चिया पसलमा पुगेर युवा उद्यमीहरूसँग भेटघाट गर्नुभएको छ।
राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेपछि उहाँ चर्चामा हुनुहुन्छ। यसै क्रममा, भण्डारीले नयाँ व्यवसाय सुरु गरेका युवाहरूका समस्या, चुनौती र चासोका बारेमा बुझ्न चिया पसलको भ्रमण गर्नुभएको उहाँ निकट स्रोतले जनाएको छ।
चिया पसल सञ्चालकहरूमध्ये एकजनाका अनुसार, पूर्वराष्ट्रपति भण्डारीले नेपाली उत्पादन र नेपालीपनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको थियो। उहाँले युवाहरूले यस्ता व्यवसाय सञ्चालन गर्न थप क्रियाशील हुनुपर्ने र त्यसमा राज्यले सहयोग गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभएको थियो।

