काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मंगलबारबाट नाडा अटो शो–२०२५ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शोको औपचारिक उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै नाडा अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष करण चौधरीले अटो शोले देशको कुल अटोमोबाइल व्यापारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने भन्दै यो प्रदर्शनी मात्रै नभई ठूला व्यापारिक गतिविधिको केन्द्र बन्ने विश्वास व्यक्त गरे। उनले अटोमोबाइल क्षेत्रले नेपालमा १० लाख रोजगारी सिर्जना गरेको र करिब ३ हजार व्यवसायीलाई एकीकृत गरेको दाबी गरे।
अध्यक्ष चौधरीले नाडा अटोमोबाइल्स एशोसिएसनले करिब ९० प्रतिशत अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व गर्ने बताउँदै, यो क्षेत्रले सीप र रोजगारी दुवै सिर्जना गरिरहेको उल्लेख गरे। उनले पछिल्लो बजेटलाई गत १० वर्षमा नदेखिएको सकारात्मक बजेट भएको भन्दै अर्थमन्त्रीको प्रशंसा गरे।
उनले आउँदो मौद्रिक नीतिको समीक्षाले अटोमोबाइल व्यवसायका लागि थप सकारात्मक नीतिगत व्यवस्था आउने अपेक्षा राखे। साथै सरकारले ल्याउन लागेको नयाँ यातायात मापदण्ड व्यवसायीलाई उत्साहित पार्नेमा विश्वास व्यक्त गरे। नेपालमा सवारीसाधन एसेम्बल गर्नु जरुरी भए पनि पार्टपुर्जा नेपालमै उत्पादन गर्नु अझ महत्त्वपूर्ण हुनेमा उनले जोड दिए।
यस पटकको नाडा अटो शोमा पहिलोपटक ह्युमनोइड रोबोट र उड्ने कार प्रदर्शनीमा राखिएका छन्, जसले अवलोकनकर्तामाझ नयाँ आकर्षण थपेको छ। काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको यो अटो शो ६ दिनसम्म सञ्चालन हुनेछ।

