२०८३, आश्विन २० गते

images
  • विश्व
  • नेपाललाई बाइपास गर्दै चीन–भारत फेरि लिपुलेक...

नेपाललाई बाइपास गर्दै चीन–भारत फेरि लिपुलेक प्रयोगबारे सहमति

नेपाललाई बाइपास गर्दै चीन–भारत फेरि लिपुलेक प्रयोगबारे सहमति

सीएनएन खबर
बुधवार, भाद्र ४ २०८२१२:५६
सीएनएन खबर
बुधवार, भाद्र ४ २०८२१२:५६
  • images

    काठमाडौं । चीन र भारतले नेपाललाई बाइपास गर्दै फेरि लिपुलेक नाकामार्फत व्यापारिक आवागमन खोल्ने सहमति गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा मंगलबार भएको वार्तापछि दुवै देश यसबारे सहमत भएका हुन्।

    भारतीय विदेश मन्त्रालयले जारी गरेको १२ बुँदे विज्ञप्तिको आठौँ बुँदामा उल्लेख छ, “दुवै पक्ष लिपुलेक, सिप्की ला र नाथुला गरी तीनै व्यापारिक नाकामार्फत सीमा व्यापार पुनः खोल्न सहमत भएका छन्।”

    यो सहमति भारतीय प्रमुख सुरक्षा सल्लाहकार तथा सीमा वार्ताका विशेष प्रतिनिधि अजित डोभलको निमन्त्रणामा दिल्ली पुगेका वाङ यी र भारतीय पक्षबीच सम्पन्न भएको हो।

    लिपुलेक नेपाली भूभाग हो। यसको उत्तरतर्फ चीनको तिब्बत पर्छ भने करिब १७ किलोमिटर पश्चिममा लिम्पियाधुरा अवस्थित छ, जसलाई नेपालले भारत र चीनसँगको त्रिदेशीय विन्दुका रूपमा मान्दै आएको छ। तर भारतले नेपाली भूमि अतिक्रमण गरी लिपुलेक हुँदै तिब्बत जाने सडक निर्माण गरेको छ र सो क्षेत्रमा सैन्य तथा सामरिक संरचना खडा गरेको छ।

    दिल्लीबाट चीन प्रवेश गर्ने सबैभन्दा छोटो बाटो लिपुलेक नाका भएकाले भारतले यसलाई रणनीतिक हिसाबले अत्यन्त महत्त्वपूर्ण मानेको छ। चीनले पनि तिब्बत–भारत व्यापारका लागि सो नाकालाई सहज मार्गका रूपमा लिएको छ।

    नेपाललाई औपचारिक रुपमा सहभागी नगराई भारत र चीनबीच भएको सहमतिले पुनः नेपालको असन्तुष्टि बढ्ने देखिएको छ। यसअघि पनि दुवै देशबीच लिपुलेक प्रयोगबारे सहमति हुँदा नेपालले तीव्र विरोध जनाएको थियो।

    यो सहमति त्यतिबेला भएको हो, जतिखेर प्रधानमन्त्री केपी शर्मा ओली चीनमा हुन लागेको शाङ्घाई कोअपरेसन अर्गनाइजेसन (SCO) को सम्मेलनमा सहभागी हुने तयारीमा छन्। सोही सम्मेलनमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend