काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालयको आज उद्घाटन हुँदैछ। नयाँ बानेश्वर नजिकै रहेको थापा गाउँमा भण्डारीको सम्पर्क कार्यालय उद्घाटन गर्न लागिएको हो।
‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट उक्त भवनको उद्घाटन गर्ने तयारी छ। भण्डारीले दिउँसो २ बजे सम्पर्क कार्यालयको रुपमा उद्घाटन हुन लागेको हो ।
केही समयअघि नै भण्डारीले उक्त घरलाई भाडामा लिएकी थिइन् । त्यसको सरसफाइ र रङरोगन गरेपछि आज उद्घाटन गर्न लागिएको हो । तर भण्डारीको सचिवालयले त्यसलाई सम्पर्क कार्यालय भनेको छैन । भण्डारीको सचिवालयले ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मुल व्यवस्थापन समिति’ भनेको छ ।
यसअघि नै जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन समिति गठन गरिएको छ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलको नेतृत्वमा ७५ सदस्यीय समिति गठन गरिएको थियो ।
मदन भण्डारी फाउन्डेसनमार्फत् गठन भएको उक्त समितिको कार्यालयको रुपमा उक्त भवनलाई परिचित गराए पनि अब पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक भेटघाटहरु सोही घरमा हुने बताइएको छ । त्यसो त असार १४ गते आफू सक्रिय राजनीतिमा आउने घोषणा गरेकी भण्डारीलाई एमालेले सहज रुपमा सक्रिय हुन नदिने संकेत गरेपछि उनी आफू सक्रिय राजनीतिमा लाग्न लागेको सन्देश दिन देशभरी पुगिरहेकी छन् । एमालेले सदस्यता नविकरण नगरेको र पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सम्मानित ठाउँमै बस्न भनेपछि भण्डारीले आफ्नो सक्रियतालाई थप बढाएकी हुन् ।
आज दिउँसो २ बजे एक समारोहकाबिच भण्डारीले आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्नेछिन् । त्यसो त ०४८ सालको निर्वाचनमा मदन भण्डारीले सोही घरलाई आफ्नो सम्पर्क कार्यालय बनाएर तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएका थिए । पछि मदन भण्डारीको निधनपछि विद्याले पनि सोही घरलाई सम्पर्क कार्यालय बनाएकी थिइन् ।

