गजा क्षेत्रको दक्षिणी सहर खान युनिसस्थित नासेर अस्पतालमा सोमबार साँझ इसराइली सेनाले गरेको हवाई आक्रमणमा पाँच जना पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको छ। अस्पताल परिसरमा विस्थापित प्यालेस्टिनी नागरिकहरू बसेको स्थानमा लक्षित गरि गरिएको उक्त हमलामा दर्जनौं अन्य घाइते भएका छन्।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले हमलामा भएका जनधनको पुष्टि गर्दै यसलाई ‘भयानक नरसंहार’ भनेको छ। मन्त्रालयले अस्पताल, स्वास्थ्यकर्मी र पत्रकारहरूलाई लक्षित गरी गरिएको आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लङ्घन भएको टिप्पणी गरेको छ।
समाचार संस्था रोयटर्सले जनाएको अनुसार आक्रमणको समयमा अस्पताल परिसरमा सयौं विस्थापितहरूले आश्रय लिइरहेका थिए। मारिएका पत्रकारहरूमा रोयटर्सका फोटोग्राफर होसम अल मसरी, अल जजिराका फोटो पत्रकार मोहम्मद सलामा, स्वतन्त्र पत्रकार मरियम अबु दक्का, मोआज अबु ताहा र एक स्थानीय समाचार संस्थाका पत्रकार अहमद अबु अजिज रहेका छन्।
घटनापछि अन्तर्राष्ट्रिय सञ्चार संस्था, मानव अधिकारवादी समूह र प्रेस स्वतन्त्रताका पक्षमा क्रियाशील संस्थाहरूले तीव्र निन्दा व्यक्त गरेका छन्। सेन्टर फर प्रोटेक्सन अफ जर्नालिस्ट, रिपोर्टर्स विदआउट बोर्डर्स लगायतका संस्थाहरूले पत्रकारहरूको हत्या निन्दनीय रहेको जनाउँदै तत्काल निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन्।
इसराइली सेनाले हमलाको पुष्टि गर्दै यसलाई ‘दुःखद दुर्घटना’ भन्दै क्षमा याचना गरेको छ। सेनाले जारी गरेको विज्ञप्तिमा यो आक्रमणको उद्देश्य अस्पताल वा पत्रकारहरू लक्षित गर्नु नभएको स्पष्ट पारिएको छ र घटनाको अनुसन्धान प्रारम्भ गरिएको जनाइएको छ।

