काठमाडौं । नेपाल सरकारले ‘राष्ट्रिय युवा नीति २०८२’ लागू गर्दै अबदेखि १८ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र ‘युवा’ को परिभाषामा समेट्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को हालैको बैठकबाट स्वीकृत यस नयाँ नीतिले अब पुरानो १६–४० वर्षको युवा सीमा हटाउँदै अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय सन्दर्भलाई मिलाएर नयाँ उमेर सीमा निर्धारण गरेको हो।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार बालबालिका ऐनले १८ वर्षसम्मका व्यक्तिलाई बालबालकाको रुपमा परिभाषित गरेकाले त्यसलाई मध्यनजर गर्दै युवा उमेरको नयाँ दायरा तोकिएको हो।
नयाँ नीतिको मूल उद्देश्य भनेको युवालाई सक्षम, जिम्मेवार र राष्ट्र निर्माणमा अग्रणी बनाउनु रहेको छ। नीति अनुसार युवा शक्तिलाई स्वस्थ, शिक्षित, उद्यमशील, सिर्जनशील र प्रविधिमैत्री बनाइ राष्ट्रको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक विकासमा प्रभावकारी बनाउने योजना छ।
युवाको आत्मनिर्भरता र स्वरोजगारलाई प्राथमिकता दिँदै नीति अन्तर्गत स्टार्टअप, व्यवसाय प्रवर्द्धन केन्द्र, करिअर काउन्सिलिङ, एकल सेवा केन्द्र, प्राविधिक तालिम, सिपमूलक कार्यक्रम लगायत उद्यमशीलता विकासका विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।
त्यसैगरी हरित कृषि, परम्परागत सिपको आधुनिकीकरण, व्यवसायिक बीमा, सहुलियतपूर्ण कर्जा, कर छुट र बजारीकरणजस्ता सुविधामार्फत युवा उद्यमशिलता र प्रतिस्पर्धी मानव पुँजी निर्माणमा सरकार अगाडि बढ्नेछ।
युवाको अनुसन्धान, प्रविधि उपयोग र साइबर सुरक्षामा पहुँच सुनिश्चित गर्ने नीति सहित राष्ट्रमा सकारात्मक परिवर्तन ल्याउने युवा नेतृत्व विकास गर्ने सरकारको उद्देश्य स्पष्ट देखिन्छ।

