काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँगको सहकार्यले सम्पूर्ण मानवताको कल्याणको बाटो खोल्ने बताएका छन्। चीनको थ्यानचिन शहरमा राष्ट्रपति सी चिनपिङसँग आयोजित द्विपक्षीय वार्तामा मोदीले दुई देशबीचको सम्बन्ध पारस्परिक विश्वास, सम्मान र संवेदनशीलतामा आधारित भएर अघि बढाउन प्रतिबद्धता व्यक्त गरे।
शनिबार थ्यानचिन पुगेका मोदी सात वर्षमा पहिलोपटक चीन भ्रमणका लागि आएका हुन्। जापानको दुई दिने भ्रमण सकाएर उनी थ्यानचिनस्थित बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
द्विपक्षीय वार्तामा मोदीले पोहोर वर्ष रुसको काजानमा भएको बैठक सम्झँदै आफूहरूबीचको छलफल फलदायी रहेको र यसले दुई देशको सम्बन्ध सकारात्मक दिशामा अघि बढाएको बताए। उनले दुई देशको सीमामा तनाव घटाउने ‘डिसइंगेजमेन्ट’ प्रक्रियाले शान्ति र स्थिरताको वातावरण निर्माण गरेको उल्लेख गरे। साथै, दुई देशका विशेष प्रतिनिधिहरूबीच सीमा व्यवस्थापनसम्बन्धी सहमति भएको जानकारी पनि उनले दिए।
मोदीले दुई देशबीचको सहकार्यले २ अर्ब ८० करोड मानिसको सरोकार मात्र होइन, सम्पूर्ण मानवताको हित सुनिश्चित गर्ने बाटो खोल्ने बताए। उनले भने, “हामी पारस्परिक विश्वास, सम्मान र संवेदनशीलतामा आधारित भएर सम्बन्ध अघि बढाउन प्रतिबद्ध छौं।”
प्रधानमन्त्री मोदीले चीनमा आफूलाई गरिएको न्यानो स्वागतको लागि चिनियाँ राष्ट्रपति सीलाई धन्यवाद दिए र एसियाली सहयोग संगठन (एससीओ)को सफल अध्यक्षताका लागि बधाई पनि दिए।
चीनका राष्ट्रपति सी चिनपिङले पनि मोदीसँग पुनः भेटघाट पाउँदा खुशी लागेको बताए। सीले भारत र चीन दुवै प्राचीन सभ्यता भएको र संसारमा सबभन्दा धेरै जनसंख्या भएको मुलुक भएको स्मरण गर्दै ग्लोबल साउथको महत्त्वपूर्ण सदस्यका रूपमा पनि भारतको भूमिका उल्लेखनीय रहेको बताए।
यो वर्ष भारत र चीनबीच कूटनीतिक सम्बन्धको ७५औं वार्षिकोत्सव रहेको सीले स्मरण गराउँदै दुवै देशले रणनीतिक तथा दीर्घकालीन दृष्टिकोणमार्फत सम्बन्ध व्यवस्थापन गर्नुपर्ने जोड दिए। उनले बहुपक्षीयता, बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय संस्थाहरूमा लोकतन्त्र बहालीको ऐतिहासिक जिम्मेवारी पूरा गर्न दुवै देशलाई आह्वान गरे।
सीले थपे, “एसिया र समग्र विश्वमा शान्ति र समृद्धिका लागि भारत र चीनले मिलेर काम गर्नुपर्छ।”
यस भेटघाटले दुई दिग्गज छिमेकी देशबीच पारस्परिक विश्वास र शान्तिपूर्ण सहअस्तित्वको दिशामा थप प्रगति हुने अपेक्षा गरिएको छ।

