काठमाडौँ । धरान उप महानगरपालिकाका प्रमुख हर्क साम्पाङले एमालेको बहिष्काबीच बजेट पास भएको दाबी गरेका छन् । कार्यपालिका सदस्यमा एमालेको बहुमत रहदाँ रहँदै साम्पाङले कार्यपालिकामा अल्पमतबाट अनुमोदन भएको दाबी गरेका हुन् ।
असार १० गतेसम्म बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएपनि आन्तरिक किचलोले धरानको बजेट २ महिना ढिला भइसकेको छ । अहिले मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, कांग्रेस, माओवादी र राप्रपाका जनप्रतिनिधि एकठाउँ उभिएर बजेट अनुमोदन गरेको घोषणा गरे । गएको शुक्रबार कार्यपालिका बैठकमा सहमति जुटेन ।
बैठकमा एमाले नगर कार्यदलका प्रमुख सचेतक अनुप देवान र धरान १० का वडाध्यक्ष विवेक राईले बजेट पुनर्लेखन गरेर पेस गर्नुपर्ने मागसहित ५ बुँदे जानकारी पत्र दिएर बैठक बहिस्कार गरेका थिए ।
१५ जना कार्यपालिका सदस्य बैठक बहिष्कार गरेर छाडेर हिँडेको र बजेट अनुमोदन गरेको मेयर साम्पाङको दाबी छ । एमालेका जनप्रतिनिधि बाहिरिएपछि मेयर, उपमेयर र वडाध्यक्ष गरी ११ जनाको उपस्थितिमा बजेट अनुमोदनको एकतर्फी निर्णय गरिएको हो ।
उपमेयर आइन्द्रविक्रम बेघाले अब सिलिङका आधारमा बजेट ब्रेक डाउन गरेर अर्को कार्यपालिका बैठकमा पेस गर्ने र नगरसभाबाट पारित गर्ने बताए ।

