काठमाडौँ । सरकारले भदौ ३० गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन्।
भदौ ८ गते बसेको मन्त्रीस्तरीय निर्णयअनुसार सुपथ मूल्य पसलहरू आगामी छठ पर्वसम्म सञ्चालनमा रहनेछन्। यी पसलहरूबाट उपभोक्ताहरूले चाडपर्वमा अत्यावश्यक उपभोग्य वस्तुहरू सहुलियत मूल्यमा खरिद गर्न सक्नेछन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गर्ने पसलहरूमा चामल, गहुँ, चिनी, दाल र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइनेछ। चिउरा, पिठो, मैदा र आँटामा प्रतिकिलो सात रुपैयाँ छुट हुनेछ। जिरा, धनिया, चियापत्ती, जिउँदो खसी, बोका र च्याङग्रामा प्रतिकिलो दस रुपैयाँ छुट दिइनेछ। खाने तेलमा तोरी, सनफ्लावर र भटमासको तेलमा प्रतिलिटर सात रुपैयाँ छुट हुनेछ। कर्णाली क्षेत्रका परम्परागत अन्नहरू सिमी, फापर, चिनो, कागुनो, उवा, जुम्ली मार्सी र बासमती चामलमा पनि प्रतिकिलो दस रुपैयाँ छुट दिइनेछ।
साल्ट ट्रेडिङ कर्पोरेशनले नुन र चिनीमा प्रतिकिलो दुई रुपैयाँ छुट दिनेछ। तेल, चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो सात रुपैयाँ छुट दिइनेछ।
साल्ट ट्रेडिङ कर्पोरेशनले काठमाडौं उपत्यकामा कालिमाटी, सतुङ्गल, जाउलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काडाघारी, इमाडोल, महाराजगञ्जमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ। उपत्यकाबाहिर धनगढी, टिकापुर, अत्तरिया, बेलौरी, दिपायल, सुर्खेत, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, त्रिशुली, पोखरा, बाग्लुङ, भैरहवा, कृष्णनगर, दाङ र डडेलधुरामा पनि पसल सञ्चालन हुनेछ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले झापा, ताप्लेजुङ, मोरङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, ललितपुर, रसुवा, कास्की, तनहुँ, गोरखा, लम्जुङ, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, खोटाङ, सिराहा, धनुषा, पर्सा, काठमाडौं, दैलेख, डोल्पा, गुल्मी, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, कालिकोट, हुम्ला, कैलाली, डडेलधुरा, बाजुरा, डोटी, बैतडी, सुर्खेत, जाजरकोट, जुम्ला, मुगु, बझाङ, कञ्चनपुर, अछाम र दार्चुलामा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ।
सरकारले चाडपर्वमा उपभोक्तालाई राहत दिन र बजार मूल्य नियन्त्रणमा राख्न सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। सुपथ मूल्य पसलहरू बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।

