काठमाडौं । विश्व सम्पदाको सूचीमा सूचीकृत ललितपुरकाे ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ। ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याएपछि सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको हाे।
महानगरपालिकाले करिब रु एक करोड ५२ लाख लागतमा पुरानो चाइनिज इँटा हटाएर स्थानीयस्तरमा उत्पादित रैथाने ‘तेल्या’ इँटा बिछ्याउने कार्य सम्पन्न गरेको छ। यो इँटा मल्लकालदेखि प्रयोग हुँदै आएको परम्परागत प्रकारको इँटा हो, जुन बलियो, टिकाउ र सौन्दर्यपूर्ण मानिन्छ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार तेल्या इँटा रैथाने इँटा हो, यो निकै चम्किलो र बलियो हुन्छ। ‘पुरानो इँटा काम नलाग्ने भएकाले सम्पदा संरक्षणका लागि नयाँ तेल्या इँटा बिछ्याएका हौँ,’ उनले भने।
नगरप्रमुख महर्जनका अनुसार तत्कालिन राजा वीरेन्द्र शाहको राज्याभिषेकको समयमा चाइनिज इँटा बिछ्याइएको थियो, जुन समयसँगै जीर्ण भइसकेको थियो। त्यही इँटा हटाएर अहिले तेल्या इँटा राखिएको छ। जसले पानी जम्न नदिने र सफा देखिन्छ। इँटा राखिएपछि सम्पदा क्षेत्रको सतह पनि करिब चार इञ्च अग्लो भएको छ।
स्थानीय उपेन्द्रकुमार श्रेष्ठले महानगरपालिकाले अत्यन्त सकारात्मक काम गरेको बताए। ‘पुरानो इँटाका कारण पाटन दरबार क्षेत्र फोहर देखिन्थ्यो’, उनले भने, ‘अहिले त निकै चम्किलो र सफा देखिन्छ। सफा गर्न पनि सजिलो छ, पानी जम्ने समस्या पनि छैन। निकै राम्रो काम भएको छ।’

