२०८३, आश्विन २० गते

images

उद्योग मन्त्रालयले भन्योः १५३ ठाउँमा सहुलियत पसल सञ्चालनमा, दैनिक उपभोग्य बस्तुको अभाव छैन

उद्योग मन्त्रालयले भन्योः १५३ ठाउँमा सहुलियत पसल सञ्चालनमा, दैनिक उपभोग्य बस्तुको अभाव छैन

मंगलवार, भाद्र ३१ २०८२१२:१५
मंगलवार, भाद्र ३१ २०८२१२:१५
  • images

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशभर १ सय ५३ स्थानमा चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन गरिएको जनाएको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै  देशभर उक्त स्थानमा सहुुलियत पसल सञ्चालन गरिएको जनाएको हो । 

    ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसन मार्फत देशभर सोमबारदेखि १ सय ५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिएको र बजारमा दैनिक अत्यावश्यक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नरहेकालले माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्न नदिन र अत्याधिक वस्तु सञ्चित नगर्न नगराउन सम्पूर्ण उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, संचयकर्ता, बिक्रेता लगायत व्यवसायीहरु र आम उपभोक्तालाई अनुरोध गर्दछाैँ’, मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।  

    मन्त्रालयका सचिवद्वय डा रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग गरेको छलफलमा मुलुकलाई नयाँ ढङ्गबाट अगाडि बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनीहरुले निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट अगाडि बढाउन आवश्यक सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।

    सचिवद्वयले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै आवश्यक खाद्यान्नलगायत सामग्री पर्याप्त मौज्जाद रहेकाले कुनै अभाव नहुने जानकारी दिए । उनीहरुले माग, आपूर्ति र प्रतिकूल प्रभाव पार्नेगरी वस्तु सञ्चित नगर्न/नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, बिक्रेतालगायत सरोकार भएका सबैलाई अनुरोध गरे ।

    मन्त्रालयले आपूर्ति व्यवस्थामा ठूलो असर नपर्ने देखिएकाले वस्तु अनावश्यक रूपमा सञ्चित नगर्न सर्वसाधारणमा आग्रह गरेको छ । परिस्थिति सामान्य बन्दै गएकाले निजी क्षेत्रलाई आफ्ना उद्योग व्यवसाय सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको छ ।

    मन्त्रालयले आयात सहज गर्न कोरला नाका खुला गरिएको तथा सो नाकाबाट ठूलो मात्रामा सामान भित्रिरहेको जानकारी गराउँदै तातोपानी नाका खुलाउन प्रयास भइरहेको जनाएको छ । साथै दक्षिणतर्फका नाकासमेत नियमित सञ्चालनमा आइसकेको सचिवद्वय घिमिरे र राउतले जानकारी दिए ।

    छलफलमा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अहिलेको विषम् परिस्थितिमा मुलुक अप्ठ्यारोमा परेकाले अर्थतन्त्र उकास्न सबैसँग सहकार्य र समन्वय गरी सहज वातावरण बनाउन आवश्यक रहेकामा जोड दिए। 

    उनले उत्पादनमूलक उद्योग, होटेल तथा रिटेल चेन तथा साना व्यवसाय तथा उद्योगी व्यवसायीका निजी आवास तथा भवनमा भएको आगजनी, लुटपाट तथा तोडफोड गरी निजी क्षेत्रलाई निराश बनाए पनि नयाँ हौसलासहित उठ्ने प्रयास गरिएको बताए । सरकारसँग नजिक रहेर काम गर्न निजी क्षेत्र प्रतिबद्ध रहेको बताउँदै उहाँले निजी क्षेत्रलाई आत्मविश्वासिलो बनाउनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend