सागर पाण्डे
अध्यक्षका उम्मेदवार, टान
ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल (टान)
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को साधारणसभा एवम् निर्वाचन यहि भदौ १७ गते हुँदैछ । टानको साधारणसभाले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । साधारणसभाको घोषणा भएसँगै नयाँ नेतृत्वका लागि दौडधूप शुरु भइसकेको छ ।
यसैबीच अध्यक्षका उम्मेदवार सागर पाण्डेले व्यवसायिक प्रतिनिधित्वलाई जोड दिँदै आफ्नो एजेण्डासहित अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनै पाण्डेसँग समग्र पर्यटन क्षेत्रको अवस्था, एजेण्डा, भावी कार्यदिशा लगायतको विषयमा केन्द्रित रहेर कुराकानी गरिएको छ । प्रस्तुत छ पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंशः
यहाँले बुझेको पर्यटन क्षेत्र के–कस्तो रहेको छ ?
म पर्यटन क्षेत्रमै लागेको करिब ३० वर्ष हुन लागिसकेको छ । २२ वर्षको उमेरदेखि नै पर्यटन क्षेत्रमा लागेँ । योजना पनि थिएन, अकस्मात यो क्षेत्रमा आइयो । पर्यटन क्षेत्र एउटा महासागर हो । यहि क्षेत्रमा रमाइ रहेको छु । प्रविधिमा आएको विकास सँगसँगै पर्यटनको आचारण, अपेक्षा, हाम्रो व्यवसाय गर्ने तरिकाहरुमा पनि धेरै नै छलाङ आएको छ । अहिले एक सेकेन्डमा नै पर्यटक ‘टुरिष्ट’ले चाहेको, खोजेको कुरा आफ्नो प्राइज रेन्जमा प्राप्त गर्न सक्छन् । यो राम्रो पक्ष हो ।
नेपालमा पर्यटन व्यवसायको सम्भावना कस्तो देख्नुभएको छ ?
अहिले पयर्टन क्षेत्रबाट कसरी आत्मनिर्भरता बन्ने भन्ने विषय राष्ट्रिय बहसको विषय बनेको छ । म एउटा कर्मशिल मान्छे हो । मैले आफ्नो मेहनतलाई सुरुका दिनदेखि समय सापेक्ष अगाडि बढाइ रहेको छु । त्यसले गर्दा म आफ्नो पेशामा सन्तुष्ट छु । खुसी नै सबैभन्दा बढी सफलता हो भन्ने लाग्छ ।
नेपालमा पर्यटन क्षेत्रको समग्र विकासका लागि कुन क्षेत्रले के–गर्नुपर्ला ?

हामी पर्यटन भन्ने बित्तिकै ‘होलेस्टिक’ रुपमा बुझ्छौं । अब यसलाई पर्वतीय, माउन्टेरिङ, इभेन्ट पर्यटनका रुपमा छुट्याउनुपर्छ । नेपाल आफैँमा प्राकृतिक रुपमा भरिपूर्ण छ । हाम्रा डाडाँकाँडामा रिसोर्ट बनाउन सक्यौं भने दिल्लीबाट प्लेन चार्टर गरेर पर्यटक आउँछन् । त्यहाँ जान्छन्, पाँच दिनको कन्फ्रेन्स गरेर फर्किन्छन् । कर्पोरेटहरु, मल्टी नेशनल कम्पनीहरुसँग यति पैसा छ कि हामी कहाँ आएर खर्च गर्ने त्यो ‘पिनट’ हो । हामीले त्यसलाई टार्गेट नै गर्न सकेका छैनौं । पर्यटकहरु सबै ट्रेकिङ मात्रै जान चाहन्छन् भन्ने पनि छैन ।
अब हामीले पर्यटनको क्षेत्रलाई छुट्याउनुपर्छ । हामीले ट्रेकिङ मात्र जाने पर्यटकलाई लक्षित नगरी समग्र नेपालको डाइभर्सिटी अनुसार पर्यटन पूर्वाधारको विकास गर्नुपर्छ । यसमा पर्यटनलाई डिफाइन गर्न आवश्यक छ । कुन सेग्मेन्टमा कति प्रतिशतले पर्यटन विकास गर्ने र यसको सम्भावनाहरुलाई खोजी गर्नुपर्ने देखिन्छ । सम्भावनाहरुलाई हेरेर हामीले ‘आर्टिफिसियल’ टुरिजमहरुलाई विकास गर्न जरुरी छ । टुरिजमलाई बहुआयमिक रुपमा परिभाषा गर्न जरुरी छ । टे«किङ र माउन्टेरिङ मेजर सेग्मेन्ट हो । समग्र पर्यटनको कुरा गर्दा अरु आयमहरुलाई पनि भूल्नु हुँदैन ।
पर्वतीय पर्यटन र ट्रेकिङ क्षेत्रका सम्भाव्यता बारे टानको भूमिका कस्तो हुन्छ ?
टानलाई अगाडि बढाउन विगतदेखि अहिलेसम्म प्रत्येक कार्य समितिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जे–जे काम भएको छ, त्यो एक हदसम्म राम्रो काम भएको छ । म महासचिव हुँदा टान राष्ट्रिय रुपमा परिचित थिएन । हामीले ‘क्राइसिस’ को समय भनौं वा टुरिजम बोर्डको वेतिथिकाविरुद्ध आवाज उठाउन भूमिका खेल्दै आयौं । जसले राष्ट्रिय रुपमा टानको पहिचान बढायो । अहिले अन्तर्राष्ट्रिय रुपमै टानको महत्व बढ्दै गएको छ । अहिलेसम्मको अनुभव प्रयोग गर्दै अब फरक ढंगले अगाडि बढ्ने मेरो योजना हो ।
अर्को राज्य र व्यवसायीहरुलाई बेनिफिट हुने हिसाबले कसरी पहल गर्ने भन्ने मुख्य चुनौती हो । त्यसमा टानले प्रमुख भूमिका खेल्न जरुरी छ । हान, नाटा लगायतका पर्यटनसँग सम्बन्धित जतिपनि संघसंस्थाहरु छन्, सबै एकै ठाउँमा आउन जरुरी छ । हामीले एउटै आवाज लिएर अगाडि बढ्दा समग्र पर्यटनलाई प्रभाव पार्दछ । नेपालमा पर्यटनको कुरा गर्दा सरकार एकातिर, पर्यटनसँग सम्बन्धित संघसंस्थाहरु अलग–अलग बाटोतिर हिँड्दा समस्या भएको हो ।
हामीमा समग्र पर्यटन विकासको अवस्था कहाँ छ ?, त्यसलाई प्राप्ति गर्न हामी कहाँ उभिनुपर्छ ? र त्यसका लागि एक ढिक्का भएर राज्यसँग कसरी ‘लबिङ’ गर्ने भन्ने अहिले ‘ग्यापिङ’ हो । त्यसकारण हामी एक ठाउँमा उभिन र एउटा ‘युनिटी क्रिएट’ गर्न जरुरी छ ।
त्यसैको आधारमा हाम्रा समस्याहरु के–के छन्, नेपालको पर्यटन विकासका राष्ट्रिय समस्या के–के छन् ? त्यसमा ध्यान दिन जरुरी छ । हामी हाम्रो जिम्मेवारीबाट पन्छिनु हुँदैन । दीगो पर्यटन विकासका लागि सबैको साथ सहयोग र पहल कदमीको आवश्यक छ । यसका लागि हामीले एफएन सीसीआइ, चेम्बर अफ कमर्श लगायत सबै उद्योगी संस्थाहरुलाई हाम्रो भ्वाइस रेन्ज गर्न जरुरी छ ।
अर्को अबको जल्दोबल्दो समस्याको रुपमा रहेको जलवायु परिवर्तनको इस्युलाई टानले उठाउन जरुरी छ । जुन मेरो एजेण्डामा पनि समावेश गरेको छु । हाम्रो हिमाललाई जलवायु परिवर्तनले ठूलो असर पारेको छ । यस विषयमा अन्तर्राष्ट्रिय स्तरसम्म सामुहिक आवाज उठाउन आवश्यक छ । जुन हामी उठाउनेछौं ।
टानको आगामी नेतृत्वका लागि अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ, यहाँका एजेण्डाहरु के–के छन् ?
टान व्यवसायीहरुको छाता संगठन हो । मेरो पहिलो सर्त नै व्यवसायलाई संरक्षण गर्ने हो । व्यवसायसँग जोडिएका कम्पोनेन्टहरु, गाइट, सहयोगी, लाइमरहरुको संरक्षण गर्ने हो । जति उहाँहरु संरक्षित हुनुहन्छ, त्यति हामी संरक्षित हुन्छौं । समग्रमा व्यवसायीहरुकै हक हितमा बोल्ने, लड्ने र कार्यान्वयन गर्ने मेरो प्राथमिकताको विषय हो ।
त्यसैगरी जलवायु परिवर्तनको असर छ । हिमाल पग्लियो, हाम्रा डाँडाहरु नाङ्गा भए, नदीनालाहरु सुके । यो हाम्रो जीवनसम्म प्राप्ति होला, तर भोलीका पुस्तामा यो पेसा हस्तान्तरण गर्दै गर्दा के होला ?, भन्ने चिन्ताको विषय बनेको छ ।
त्यो सँगसँगै पर्यटन व्यवसायलाई मर्यादित, राम्रो व्यवसायको रुपमा लैजान राज्यले लिने नीति निर्माणमा टानले लविङ गर्न जरुरी छ । अर्को हाम्रा पेसामा जोडिएका श्रमिकहरुहरु ‘वर्किङ फ्रेमवर्क’ मा हुनुहुन्न । समग्रमा यही विषयलाई लिड गर्ने हो । अर्को मैले एक सहयोगी अक्षयकोष कोषको कुरा उठाईरहेको छु । यो व्यवसाय र श्रमिकको हितमा छ ।
कोषबाट थप क्षतिपूर्ति दिएर राहतको महसुस गर्ने बनाउने भन्ने हो । जोखिममा परेका बिच्चल्लीमा परेका उनीहरुका बालबालिकालाई आधारभूत शिक्षा दिने भन्ने हो । नयाँ व्यवसायीको दुर्घटना भयो, दिर्घ रोग लाग्यो त्यहाँ टान पुग्नेछ । उक्त कोषलाई मैले पहिलो वर्षमा एक करोड पु¥याउने योजना बनाएको छु । हामी टानलाई आशाको केन्द्रको रुपमा विकास गर्नेछौं । टानमा मेम्बर बन्न बोलाउने नभई व्यवसायी नै आफैँ टानलाई खोज्दै आउने बनाउनुपर्ने छ ।
अर्को अन्नपूर्ण पदमार्ग अस्तव्यस्त छ, यसलाई पुनर्जिवित बनाउन पाइलट प्रोजेक्ट गरिनेछ । यसमा सर्भे गर्ने र सम्भावित पदमार्गको रुपमा विकास गरिनेछ । यसैगरी प्राइज कम्पिटिसनको कुरा उठेको छ । यसलाई एउटा बेन्चमा लैजानुपर्छ भन्ने हो । सबैले फियर प्राइजको आधारमा बेनिफिट लिनुपर्ने हुन्छ । यसमा फेयर ट्रेड लागु गर्नेछौं । सरकारसँग जोडिएका ट्याक्सको विषय पनि मैले महत्व दिएको छु ।
एभरेष्ट एरियामा मात्र सेन्टरलाइज भएको मार्केटलाई डाइभरसिट गर्नुपर्ने अवस्था छ । त्यहाँ हुने ओभर क्राउड, होटलको समस्या, स्यानिटेसनको समस्या, फ्लाइटको समस्या म्यानेज गर्नेछौं ।
पर्यटकलाई सर्वसुलभ रुपमा राम्रो फ्लाइट कनेक्सन अहिलेको चुनौती छ, यसलाई समाधान गर्नेर्छौं । अब प्राइभेट टुरिजम सेक्टरले नेपाल एयरलाइन्सको ओभरल रिफमको लागि दबाब दिन आवश्यक छ । किनकी नेपाली एयरलाइन्सले ल्याएको टुरिन्टले नेपालको जिडिबीमा कति योगदान दिएको छ । त्यो प्रमुख कुरा हो । नेपाल एयरलाइन्सलाई रिर्फम गराउन सरकारलाई दबाब दिनु आवश्यक छ । यी कुरालाई मैले प्राथमिक रुपमा राखेको छु ।
चुनावमा एजेण्डा राम्रा बोक्ने तर काम नगर्ने अवस्था पनि छ नि त ?
मेरो एजेण्डाहरु पूरा गर्छु भन्नेमा म विश्वास्त छु । म सक्ने भन्दा बढी आश्वासन दिन्न । पछिल्लो समय संघसंस्थामा राजनीति हावी भएको अवस्था छ ।
लिडर मुख्य पाटो हो, ऊ व्यवसायीक छ कि, के छ भन्ने हो ? म व्यवसायीको मुद्दा लिएर अगाडि बढेको छु, मलाई एकपल्ट अवसर दिनुहोस्, तपार्इंको समस्या मेरो समस्या हो भनेरै म लाग्ने छु । जे जति एजेण्डा मैले उठाएको छु ती एजेण्डा भनेको व्यबसायीहरुका एजेण्डा हुन्, मजदुर तथा कर्मचारीका एजेण्डा हुन् र ती एजेण्डालाई पुरा गर्न म भरपुर लाग्ने छु ।

