काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक प्रभावका कारण अड्किएका मुद्दा अब अगाडि बढ्ने दाबी गरेका छन् ।
शुक्रबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) निरीक्षण गर्दै उनले प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई अनुसन्धान कुनै प्रभावमा नपार्न निर्देशन दिएका हुन् ।
मन्त्री अर्यालले सुशासन स्थापना नै सरकारको प्रमुख म्यान्डेट भएको भन्दै त्यसमा अवरोध आउन नदिने चेतावनी दिए । उनले भने, “विगतमा राजनीतिक सम्बन्धका आधारमा रोकिएका वा बिथोलिएका मुद्दा अब जस्ताको तस्तै अघि बढ्छन् । सुशासन नभएसम्म शान्ति–सुरक्षा सम्भव हुँदैन, शान्ति–सुरक्षा नभए चुनाव पनि सम्भव हुँदैन ।”
सीआईबी पुगेर उनले त्यहाँ भइरहेका अनुसन्धानको विवरण सुने र आवश्यक कामलाई तीव्रता दिन निर्देशन दिए । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसमेत उपस्थित कार्यक्रममा मन्त्री अर्यालले कुनै पनि अनुसन्धान राजनीतिक वा अन्य प्रभावमा रोक्न नपाइने बताए ।
उनले सुशासन दिन नसकेकै कारण अघिल्ला सरकार र जनप्रतिनिधिहरू कमजोर भएको टिप्पणी गर्दै आर्थिक अपराध र भ्रष्टाचारलगायतका मुद्दामा देखिएका अवरोध हटाउन जोड दिए ।
यसैबीच, हालै मात्र नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरेका तत्कालीन एसएसपी डा. मनोज केसीलाई सरकारले सीआईबी प्रमुखको जिम्मेवारी दिएको छ । अघिल्लो सरकारले उनलाई प्रदेश समन्वय विभागमा थन्क्याएको भए पनि यो सरकारले ठूला मुद्दा अनुसन्धानको जिम्मा दिएको हो ।

