२०८३, आश्विन २० गते

images
  • समाचार
  • प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय सभामा ‘जेनजी’ को...

प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय सभामा ‘जेनजी’ को प्रतिनिधित्व गराउने विषयमा चासो

प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय सभामा ‘जेनजी’ को प्रतिनिधित्व गराउने विषयमा चासो

सोमवार, आश्विन २७ २०८२१२:१२
सोमवार, आश्विन २७ २०८२१२:१२
  • images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा जेनजी पुस्ताको प्रतिनिधित्व गराउने विषयमा गम्भीर चासो व्यक्त गरेकी छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगको भेटमा उनले यस्तो चासो राखेकी हुन्।

    राष्ट्रिय सभा अध्यक्ष दाहालले फागुन २१ गतेबाट रिक्त हुन लागेका १८ जना सदस्यको पदावधि र रिक्त पदमा निर्वाचन गराउने विषयमा प्रधानमन्त्री कार्कीसँग परामर्श गरेका थिए। सोही क्रममा प्रधानमन्त्रीले जेनजीलाई समावेश गर्ने विषय उठाएको दाहालले बताए।

    अध्यक्ष दाहालका अनुसार, छलफलमा जल्दोबल्दो शक्तिको रुपमा उदाएको जेनजीलाई पनि राष्ट्रियसभामा समावेश गर्ने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको हो।

    माघ ११ गते निर्वाचनको तयारी

    फागुन २० गते राष्ट्रिय सभाका १८ सदस्यको पदावधि सकिँदैछ। रिक्त पदका लागि निर्वाचन आयोगले आगामी माघ ११ गते निर्वाचन गर्नेगरी कार्यतालिका बनाइसकेको छ। अध्यक्ष दाहालले प्रधानमन्त्री कार्की आयोगको उक्त कार्यतालिकामा सहमति रहेको बताएका छन्।

    प्रधानमन्त्री कार्कीसँगको भेटमा निर्वाचन आयोगको तयारीबारे जानकारी गराउँदै अब सरकारसँग समन्वय गरेर अघि बढ्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए। यद्यपि, राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मात्र मतदाता हुने संवैधानिक व्यवस्था भएकाले जेनजीको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक सहमति आवश्यक पर्ने दाहालले सुझाव दिएका छन्।

    हालै देशमा भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले युवा पुस्ताको माग र भावनालाई उच्च सदनमा स्थान दिने संकेतका रूपमा यस चासोलाई हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend