२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सुनको मूल्य उकालो लाग्दै, तस्कर सक्रिय...

सुनको मूल्य उकालो लाग्दै, तस्कर सक्रिय हुँदै

सुनको मूल्य उकालो लाग्दै, तस्कर सक्रिय हुँदै

मंगलवार, आश्विन २८ २०८२०१:३४
मंगलवार, आश्विन २८ २०८२०१:३४
  • images

    काठमाडौं । नेपालमा सुनको मूल्य तोलामा रु. २ लाख ४८ हजार ५०० पुगेको ऐतिहासिक रेकर्डसँगै अवैध सुन कारोबार (तस्करी) पनि चुलिँदै गएको छ। सरकारको निगरानी प्रणालीलाई चुनौती दिँदै तस्करी चक्र फेरि सक्रिय बनेको छ।

    मंगलबार पर्साको वीरगन्जमा भएको संयुक्त कारबाहीमा भन्सार छली गरिएको दुई किलोभन्दा बढी सुन र दश किलोभन्दा बढी चाँदी बरामद भएको छ। यो सुन व्यवसायीको गोदामबाट फेला परेको हो, जसमा वीरगन्ज–८ का अभिषेक सर्राफ, ‘अभिषेक ज्वेलर्स’ का सञ्चालक, प्रत्यक्ष संलग्न रहेको प्रारम्भिक प्रमाण भेटिएको छ।

    सशस्त्र प्रहरी बल नेपाल (नं. १३ गण, पर्सा) र पथलैया स्थित राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले छापा मारेर २,२५४.८६ ग्राम सुन, १०,३५४.०७ ग्राम चाँदी, साथै रु. १ लाख ९ हजार नेपाली रुपैयाँ र ४१ हजार ६० भारू बरामद गरेको हो।

    साथै, सुनजस्तो देखिने ५५९ ग्राम र चाँदीजस्तो देखिने ५५० ग्राम धातु पनि शंकास्पद रूपमा बरामद गरिएको छ। यी वस्तुहरू परीक्षणका लागि पठाइएको छ।

    राजस्व अनुसन्धान कार्यालयले सर्राफको घर, पसल र गोदाममा एकैपटक छापा मारेको थियो। बैंक खाता, मोबाइल, ल्यापटप लगायत विद्युतीय प्रमाणहरू नियन्त्रणमा लिइएको छ। राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै भने, “बरामद वस्तुको परीक्षणपछि विधिसम्मत रूपमा मुद्दा दर्ता गरिनेछ।”

    प्रहरी र अनुसन्धान निकायहरूका अनुसार पछिल्लो समय सुन तस्करीमा सानातिना भन्दा ठूला व्यवसायीहरूको संलग्नता बढ्दो छ। ‘कानुनी रूपमा सञ्चालन भइरहेको देखिने प्रतिष्ठानहरू नै अवैध कारोबारमा संलग्न’ रहेको पाइएको छ।

    सरकारले तस्करी नियन्त्रण गर्न निगरानी बढाएको दाबी गरे पनि ठूला व्यापारीहरू राजनीतिक संरक्षणमा रहने, छानबिन प्रक्रियालाई प्रभावित पार्ने जस्ता गम्भीर आरोप बारम्बार उठ्ने गरेका छन्।

    मंगलबार मात्रै सुनको मूल्य एकैदिन तोलामा ८,१०० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम भएको हो। साथसाथै चाँदीको मूल्य पनि ३,३२५ रुपैयाँ प्रतितोला पुगेको छ। यही मूल्य वृद्धिले तस्करीलाई थप लोभलाग्दो बनाएको सुरक्षा निकायको विश्लेषण छ। यसरी खुला रूपमा सञ्चालित व्यवसायको आवरणमा भएको तस्करीले बजार पारदर्शिता, राजस्व संकलन र अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend