काठमाडौँ । इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ। तीमध्ये दुई जना गाई इलोज र बिपिन जोशीको पहिचान गरिएको छ। बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई गोप्य राखिएको छ।
आइडीएफका अनुसार बिपिन जोशीलाई युद्धको पहिलो केही महिनामै हत्या भएको अनुमान गरिएको छ। गाई इलोज भने अपहरणको समयमा घाइते भएका थिए र पर्याप्त उपचार नपाएकै कारण कैदमा मृत्यु भएको बताइएको छ।
इजरायलको अपहृतहरूको परिवार प्रतिनिधि समूहले विज्ञप्तिमा भनेको छ, यो अपूरणीय पीडाको क्षण हो। तर, दुई वर्षदेखि अनिश्चितता र मानसिक यातनामा बाँचेका परिवारका लागि बिपिन र गाईका शव फिर्ता आउनु केही हदसम्म राहत हो। उनीहरूले बाँकी २४ जना अपहृतहरू सुरक्षित घर फर्किनुपर्ने अडान लिएका छन्।
२०२३ अक्टोबर ७ मा गाजाबाट हमास आतंककारीहरूले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गर्दा बिपिन जोशी अन्य नेपाली विद्यार्थीहरूसँग किब्बुट्ज आलुमिममा थिए। उनीहरू अलार्म बज्दा नजिकैको शेल्टरतर्फ भागेका थिए, तर आतंककारीहरूले त्यहाँ ग्रेनेड फ्याँके। बिपिनले एक आतंककारीलाई धकेलेर बाहिर निकाल्ने प्रयास गरे, तर अर्को ग्रेनेड विस्फोट हुँदा उनका दुई साथी मारिए र केही घाइते भए।
त्यसपछि बिपिनलाई आतंककारीहरूले अपहरण गरी गाजास्थित शिफा अस्पताल लगिएको थियो। त्यही दिनको भिडियोमा उनलाई आफ्नै खुट्टामा हिँडिरहेको देखिएको थियो। बिपिन जोशी त्यतिबेला २३ वर्षका थिए। इजरायलमा कृषि अध्ययनका लागि आएको एक महिनामात्र भएको थियो।

