काठमाडौँ । वीरगन्ज महानगरपालिकाको पानी प्रशोधन केन्द्रमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय मकवानपुरको टोलीले छापा मारेको छ ।महानगरले पानी प्रशोधन केन्द्रमा व्यक्तिगत लाभका लागि बाख्रा तथा माछा पालन गर्ने गरेको उजुरीका आधारमा अख्तियारले छापा मारेको हो ।
सचेत नागरिकहरुका तर्फबाट लिएको उजुरीमाथि छानविन गर्दा पानी प्रशोधन केन्द्रमा रहेका चारवटै पोखरिमा माछा र परिसरभित्र बाख्रा पालन भइरहेको अख्तिायारका एक अधिकृतले जानकारी दिए ।
एशियाली विकास बैक र नेपाल सरकारको लागि फोहोर पानीलाई प्रशोधन गर्ने उद्देश्यले निर्माण भएको यस केन्द्रमा माछा तथा बाख्रा पालन गर्न नपाइने स्थानीयको भनाइ छ ।
सरहबाट संकलन गरिएको फोहोर पानीलाई प्रशोधन गर्न निर्माण भएका चारवटै पोखरीमा विभिन्न जातका माछा पालिएका छन भने परिसर भित्र ठूलो संख्यामा बाख्रा पालिएको अख्तियारका अधिकारीको भनाइ रहेको छ । माछा पालन गर्नकै लागि फोहोर पानीको प्रशोधनलाई बन्द गरिएको जस्तो देखिएको अख्तियारका अधिकारीले बताए ।
पानी प्रशोधन केन्द्रमा भएको माछा तथा बाख्रा पालनवारे आफुहरुलाई कुनै जानकारी नभएको महानगरपालिकाका सूचना अधिकारी सुनिल कर्णले दावी गरे । केन्द्रको सुरक्षाका लागि २४ घण्टै कर्मचारी खटिएको स्वीकार गरेपनि बाख्रा र माछा पालन कसले गर्यो र कसले गरायो सोको जानकारी नभएको उनले बताए ।
१० विघा क्षेत्रफलमा फैलिएको पानी प्रशोधन केन्द्रको निर्माणमा एशियाली विकास बैंक, नेपाल सरकार, नगर विकास कोष र महानगरपालिाको १२ करोड रुपैंयाँ लगानी भएको छ ।
केन्द्रको निर्माणमा एशियाली विकास बैंक, नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११ प्रतिशत र महानगरपालिकाको ८ प्रतिशत रकम लागनीको छ ।

