२०८३, आश्विन २० गते

images

एक लिटर रियल जुसमा ४० चम्चा चिनी, स्वास्थ्यमा कस्तो असर गर्ला ?

एक लिटर रियल जुसमा ४० चम्चा चिनी, स्वास्थ्यमा कस्तो असर गर्ला ?

बिहिवार, भाद्र १३ २०८११२:३२
बिहिवार, भाद्र १३ २०८११२:३२
  • images

    काठमाडौँ । बच्चाहरूका लागि राम्रो र स्वस्थकर भनेर प्रचार गरी बेचिने रियल ब्रान्डको तथाकथित फ्रुट जुसमा चिसो पेय पदार्थ पेप्सीमा भन्दा पनि दोब्बर चिनी भएको पाइएको छ । अझ नुनको मात्रा त साढे ३ गुणा नै बढी छ ।

    पेप्सीमा १०.४ प्रतिशत चिनीको मात्रा हुन्छ भने पाकेटबन्द रियल जुसमा २३.७ प्रतिशत चिनीको मात्रा हुन्छ । प्रत्येक १ सय एमएल पेप्सीमा करिब १० ग्राम अर्थात् करिब दुई चिया चम्चा चिनी हुन्छ । यसको मतलब एक लिटर पेप्सीमा करिब २० चिया चम्चा जति चिनी हुन्छ भने त्यति नै मात्राको रियल जुसमा त्यसको दोब्बर अर्थात् करिब ४० चिया चम्चा चिनी हुन्छ ।

    यति धेरै मात्रामा चिनी भएको झोल पदार्थलाई ‘बच्चाहरूमा हाँसो ल्याउने, स्वस्थकर र राम्रो फ्रुट जुस’ भनेर प्रचारप्रसार गर्न तथा बिक्री गर्न सरकारले किन दिएको होला ? यो आम मानिसको चासोको विषय बनेको छ ।

    त्यसो त रियल जुसभन्दा कम मात्रामा चिनी र नुन छ भन्दैमा पेप्सी स्वस्थकर पेय पदार्थ भने कदापि होइन । १ सय एमएलमा करिब दुई चम्चा चिनी हुनु भनेको डायबिटिज हुन लागेको वा डायबिटिज भइसकेको मानिसले त खानै हुँदैन । यसका साथै मोटोपन भएका मानिस र परिवारमा कसैलाई डायबिटिज भइसकेको छ भने उनीहरूका लागि पनि करिब १० प्रतिशत चिनी भएको कोक, फेन्टा, मिरिन्डा, डिउ, पेप्सी आदि चिसो पेय वा फ्रुट जुस भनिएका कुनै पनि पाकेट बन्द चिनीको झोल स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छन् ।

    यसको सट्टा शुद्ध पानी, कागती पानी, पुदिना कागती पानी, बेलको सर्वत, मही, लस्सी आर्थिक हिसाबले सस्तो र स्वास्थ्यका दृष्टिले समेत बढी लाभदायक हुन्छन् । कोक, फेन्टा, मिरिन्डा, डिउ, पेप्सीलगायतका चिसो पेय पदार्थमा चिनीका साथै, नुन, बास्ना र रंग आउने रसायन, लामो समय सुरक्षित राख्नका लागि स्टेबलाइजर वा प्रिजरभेटिभ्स, एसिड, क्याफिन, कृत्रिम कार्बोनेटेड वाटर आदि राखिएको हुन्छ, जुन स्वास्थ्यका दृष्टिले लाभदायकभन्दा हानिकारक बढी हुन्छ ।

    नुनको बढी सेवनले उच्च रक्तचापको समस्या बढाउने हुन्छ । क्याफिनको मात्राले अनिद्रा हुने, चिडचिडाहट हुने हुन्छ । क्याफिन केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउने र लत लगाउने तत्व हो । यसले कृत्रिम रूपमा शरीरलाई उत्तेजित गराउँछ र हृदयको गति बढाउँछ । यस्तो उत्तेजित अवस्थामा स्मरण शक्ति बढेको, स्फूर्ति बढेको र, थकाइ मेटिएको अनुभव हुन्छ । तर, यस्तो अवस्था क्षणिक मात्र हुन्छ ।

    चिसो पेय पदार्थहरूमा कार्बोनेटेड वाटर राखिएको हुन्छ । विशेष गरी फिँज आउने प्रयोजनका लागि यो पदार्थ राखिएको हुन्छ । कार्बोनेटेड वाटर भनेको कार्बन डाइअक्साइड ग्यास मिसिएको एक किसिमको पानी हो । यो प्राकृतिक रूपमा पाइने भए तापनि अधिकांश व्यावसायिक रूपमा उपलब्ध कार्बोनेटेड वाटरहरू भने कृत्रिम रूपमा कार्बन डाइअक्साइड ग्यास मिसाएर बनाइएको हुन्छ ।

    कृत्रिम कार्बोनेटेड वाटरले अपच हुने, एसिडिटी बढ्ने, ग्यास बढ्ने र पेट दुख्ने समस्या पनि हुन्छ । गुलियो र अमिलो मिश्रित चिसो झोलले दाँतको पालिस वा इनामेल पखाल्नुका साथै दाँतमा प्वाल पार्ने समस्या पनि हुन्छ । अहिलेका बालबालिकामा दाँत कीराले खाने जस्ता समस्या बढी देखिनुमा यी पेय वस्तु र अन्य जंकफुडहरू बढी जिम्मेवार भएको चिकित्सकहरू बताउँछन् ।

    क्याफिनयुक्त वा अधिक एसिडिक पदार्थ भएको पेय पदार्थले हाडको घनत्वलाई कमजोर पारेर हाड फुसफुस हुने अस्टियोपोरोसिसको समस्या गराउँछ । कार्बोनेटेड वाटरले स्फूर्ति महसुस गराउने र चिनीको मात्राले शक्ति आएको र मिठास अनुभव गराउँछ ।

    यस्तै, गरी तथाकथित फ्रुट जुसमा चिनीको मात्रा अधिक हुने भएकाले विशेष गरी बालबालिका तथा युवायुवतीले मन पराउँछन्। र, उत्पादकहरूले पनि उनीहरूलाई नै लक्षित गरी आकर्षक तर भ्रमपूर्ण बजारीकरण गर्ने गरेकाले यस्ता पदार्थप्रति उनीहरू आकर्षित हुन्छन् । फ्रुट जुस र चियो पेयका नाममा बेचिने यी रसायनयुक्त चिनीका झोल खाने बानी परेका कतिपय बालबालिका तथा किशोरकिशोरीलाई यसको लत नै लागिसकेको हुन्छ ।

    पाकेट बन्द फ्रुट जुस वा चिसो पेय पदार्थ रमाइलोका लागि कहिलेकाहीँ अलिकता पिउँदैमा रोगको समस्या आउने होइन । तर, रोग लागिसकेका र रोगको सम्भावना भएका मानिसहरूका लागि भने कहिलेकाहीँ पिउनु भनेको पनि खतराको घण्टी बजाउनु नै हो । साथै पटकपटक पिउने गर्दा स्वस्थ मानिसका लागि पनि हानिकारक हुन्छ । अझ बालबालिकालाई त यस्ता चिनीका झोल खान निषेध गर्नु नै उत्तम हुन्छ ।

    रियल जुसमा भएका तत्वहरू

    २३.७ प्रतिशत चिनीको मात्रा हुन्छ ।
    १०० एमएल जुसमा ४० मिलिग्राम नुनको मात्रा हुन्छ ।
    लामो समय टिकाउने स्टेबलाइजर हुन्छ ।
    कार्बोनेट हुँदैन ।
    बास्ना आउने पदार्थ राखिएको हुन्छ।
    रंग आउने वस्तु राखिएको हुन्छ।
    एसिड राखिएको हुन्छ ।
    क्याफिनको मात्रा हुँदैन ।
    १०० एमएल रियल जुसमा १२.३ ग्राम कार्बोहाइड्रेट हुन्छ ।

    उत्पादक : डाबर नेपाल


    पेप्सीमा भएका तत्वहरू

    १०.४ प्रतिशत चिनीको मात्रा हुन्छ ।
    १०० एमएल पेप्सीमा ११ मिलिग्राम नुन राखिएको हुन्छ ।
    लामो समय टिकाउने स्टेबलाइजर हुन्छ ।
    कार्बोनेटेड पानी हुन्छ ।
    बास्ना आउने पदार्थ राखिएको हुन्छ ।
    –रंग आउने वस्तु राखिएको हुन्छ ।
    एसिड राखिएको हुन्छ ।
    क्याफिनको मात्रा हुन्छ ।
    १०० एमएल पेप्सीमा १० ग्राम कार्बोहाइड्रेट हुन्छ ।

    उत्पादक : भरुन भेबरेज नेपाल

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend