काठमाडौं । तिहारको मुख्य दिन आज देशका अधिकांश भागमा मौसम सामान्य रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
आज राति पनि देशका अधिकांश स्थानमा मौसम सामान्य रहनेछ । सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र कोशी तथा गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तिहारको मुख्य दिन भाइटीकाको अवसरमा देशका अधिकांश भू–भागमा मौसम खुला रहने भएकाले यात्रा र पर्व मनाउन सहज हुने विभागले जनाएको छ ।

