हुम्ला । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा ३३५ मेगावाट क्षमताको ‘हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना’ निर्माणका लागि प्रक्रिया सुरु गरिएको छ। हाल आयोजना निर्माणका लागि आवश्यक पर्यावरणीय प्रभाव मूल्यांकन (इआइए) कार्य अघि बढाइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइए प्रक्रिया अघि बढाएको हो। उक्त आयोजना रुरु जलविद्युत् परियोजना कम्पनीले निर्माण गर्ने जनाएको छ।
आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित रहनेछ। हुम्ला कर्णाली नदी बेसिनमा अवस्थित यो आयोजना नदी प्रवाहमा आधारित (Run-of-River) प्रमुख परियोजनामध्ये एक मानिन्छ। हिमनदीको रूपमा परिचित हुम्ला कर्णालीमा बाढी–पहिरोको जोखिम तुलनात्मक रूपमा कम हुने भएकाले आयोजना प्रविधिक रूपमा पनि उपयुक्त रहेको विज्ञहरूको भनाइ छ।
पर्यावरणीय मूल्यांकन र जग्गा आवश्यकता
वन तथा वातावरण मन्त्रालयले इआइए सम्बन्धी सार्वजनिक सूचना जारी गर्दै स्थानीय सरोकारवाला निकाय, विशेषज्ञ र समुदायबाट सुझाव मागिसकेको छ। आयोजनाका लागि करिब ४७.१३ हेक्टर जमिन आवश्यक पर्नेछ।
वातावरण संरक्षण ऐन २०७६ अनुसार ५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाका लागि इआइए अनिवार्य हुने कानुनी व्यवस्था अनुसार अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ।
प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज ११८.७० घनमिटर प्रति सेकेन्ड रहनेछ। यसमा दुईवटा डाइभर्सन सुरुङ निर्माण गरिनेछ, जसको लम्बाइ क्रमशः ५४५ मिटर र ५४२ मिटर रहनेछ भने व्यास ९.५ मिटर हुनेछ।
सुक्खा याममा आयोजनाबाट ६०९.८९ गिगावाट घण्टा र वर्षा याममा १,१८४.८३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। उत्पादित बिजुली २० किलोमिटर लामो डबल सर्किट ४०० केभी प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिनेछ। आयोजनाको प्रभाव क्षेत्रमा ५६ घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन् भने १८८ वटा रुख कटान गर्नुपर्नेछ।
लागत र रोजगारी
आयोजनाको लागत प्रति मेगावाट रु २१ करोड ७६ लाखका दरले, कुल रु ७२ अर्ब ९० करोड ८० लाख पर्ने अनुमान गरिएको छ। निर्माण अवधिमा १,८०५ जनाले रोजगारी पाउनेछन् भने सञ्चालन चरणमा ११५ जना स्थायी रूपमा कार्यरत रहनेछन्।
सरकारका अनुसार, आयोजनाको निर्माण सम्पन्न भएपछि कर्णाली प्रदेशमा ऊर्जा स्वावलम्बनको दिशामा ठूलो फड्को मार्नेछ र स्थानीय पूर्वाधार, उद्योग तथा पर्यटन विकासमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

