काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा सहभागी हुन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। उनी नेपाल वायुसेवा निगमको जहाजमार्फत अपरान्ह भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन।
अक्टोबर २७ देखि ३० ९कात्तिक १० देखि १३० सम्म नयाँ दिल्लीमा आयोजना हुने यस महासभामा ४० भन्दा बढी देशका मन्त्री र प्रतिनिधिहरू सहभागी हुने छन्। सभामा सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरूबीच सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति, जलवायु परिवर्तन न्यूनीकरण तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसरबारे उच्चस्तरीय छलफल हुने कार्यक्रम छ।
मन्त्री घिसिङले नेपालको तर्फबाट सभामा सम्बोधन गर्दै सौर्य ऊर्जाको प्रभावकारी उपयोग, स्वच्छ ऊर्जाको विस्तार, र क्षेत्रीय सहकार्यका माध्यमबाट दिगो ऊर्जा रूपान्तरणको आवश्यकता बारे आफ्नो धारणा प्रस्तुत गर्नेछन्।
नेपालले हालसालै स्वच्छ ऊर्जामा लगानी र सहकार्य बढाउँदै सौर्य ऊर्जाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा आवद्ध भई नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न स्वच्छ ऊर्जा प्रवर्द्धनलाई प्राथमिकता दिने नीति लिएको बताइएको छ।
सन् २०१५ मा पेरिसमा जारी घोषणा अनुसार गठन गरिएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धनले सन् २०३० सम्म एक ट्रिलियन अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्ने लक्ष्य लिएको छ। यसले विश्वभर सौर्य ऊर्जाको पहुँच अभिवृद्धि गर्दै दिगो ऊर्जा समाधानको मार्गनिर्देशन गर्ने उद्देश्य राखेको छ।
नेपाल २०८१ साल भदौ महिनामा प्रतिनिधिसभाबाट संरचना सम्झौता अनुमोदन गर्दै क्ष्क्ब् को १०१औं सदस्य राष्ट्र बनेको हो। मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

