काठमाडौं । खराब मौसम र न्यून भिजिबिलिटी (दृश्यता) का कारण पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थलमा उडान–अवतरण पूर्ण रूपमा बन्द गरिएको छ। भद्रपुर विमानस्थल भने क्रमशः सञ्चालनमा आउने तयारीमा रहेको विमानस्थल कार्यालयले जनाएको छ।
हिजोदेखि लगातार परेको वर्षाका कारण देशभर हवाई यातायात प्रभावित भएको हो। आन्तरिक उडान सञ्चालन गर्दै आएका विभिन्न एयरलाइन्स कम्पनीहरूले मौसमका कारण आजको उडान तालिका संशोधन गरेका छन्।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), बुद्ध एयर, शह–सगरमाथा र यती एयरलाइन्सका केही उडान स्थगित भएका छन् भने केही फ्लाइटहरू प्रतीक्षामा राखिएको बताइएको छ।
मौसमविद्हरूका अनुसार बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको आंशिक प्रभाव नेपालमा समेत परेको छ। यसका कारण देशको मध्य र पूर्वी भूभागमा वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ।

