काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले आफ्नो निर्धारित राजस्व लक्ष्य पूरा गर्न सकेको छैन। अर्थ मन्त्रालयका अनुसार असोज मसान्तसम्ममा सरकारले २ खर्ब ४९ अर्ब रुपैयाँ मात्र राजस्व संकलन गरेको छ, जबकि सोही अवधिको लक्ष्य ३ खर्ब २१ अर्ब रुपैयाँ थियो। यसरी ७२ अर्ब रुपैयाँ कम संकलन भएको तथ्याङ्कले सरकारको राजस्व संकलन प्रणालीमा कमजोरी देखाएको छ।
राजस्वका प्रमुख शिर्षकहरूमा पनि लक्ष्य पूरा नभएको छ। भन्सार महसुलमा ७० अर्बभन्दा बढीको लक्ष्य राखिएकोमा ५६ अर्ब ८५ करोड मात्रै संकलन भएको छ। मूल्य अभिवृद्धि कर (भ्याट)मा ९४ अर्ब ११ करोडको लक्ष्य रहेकोमा ८१ अर्ब २३ करोड मात्र उठेको छ। अन्तशुल्क, आयकर र गैरकरमा पनि लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ।
पहिलो त्रैमासमै लक्ष्य नपुग्दा सरकारको दैनिक चालु खर्च धान्न चुनौती देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार दैनिक खर्च झन्डै ३ खर्ब रुपैयाँ भए पनि दैनिक राजस्व आम्दानी २ खर्ब ८० अर्ब रुपैयाँ मात्रै छ। विशेषज्ञहरूले भनेका छन्, यदि राजस्व संकलन सुधारिएन भने आगामी दिनमा सरकारको आर्थिक स्थिति अझ दबाबमा पर्न सक्ने खतरा रहेको छ।

