काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता प्रक्रिया सुरु भएपछि पहिलो दिन नै १२ राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि दर्ता गरेका छन् । मंसिर १ देखि १० गतेसम्म निर्धारण गरिएको दल-दर्ता समयावधि अन्तर्गत आयोगमा पहिलो दिन राम्रो उत्साह देखिएको निर्वाचन आयोगले जानकारी दिएको छ।
आयोगका अनुसार दर्ता गराउने दलहरूमा नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), आम जनता पार्टी (आजपा) र देश विकास पार्टी लगायतका दल प्रमुख रूपमा छन्। यससँगै प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी र नेपाल मानवतावादी पार्टीले पनि दर्ता प्रक्रिया पूरा गरेका छन्।
निर्वाचन आयोगका प्रवक्ताका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता नगरेका दलले चुनावमा भाग लिन नपाउने भन्दै सबै दललाई समयमै दर्ता गर्न आग्रह गरिएको छ।
यसैबीच, केही दलहरूले निर्वाचनबारे शंका व्यक्त गरिरहेका समयमा प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवाहरूसँग छलफल गर्दै निर्वाचन सफलताका लागि मंसिर १० गतेभित्र प्रमुख दलहरूको अनिवार्य दर्ता आवश्यक भएको बताएकी छन्।उनले दर्ताको समयसीमालाई चुनावको विश्वसनीयता र सुनिश्चितताको प्रमुख सूचकका रूपमा व्याख्या गरिन्।

