काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा इतिहासकै उच्च नाफा आर्जन गर्दै पौने २ खर्ब रुपैयाँको खुद नाफा कमाउन सफल भएको छ। बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरणअनुसार राष्ट्र बैंकले गत वर्ष १ खर्ब ७२ अर्ब ३९ करोड ९२ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको हो।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले १ खर्ब १५ अर्ब ३५ करोड ३७ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो। यसरी गत वर्ष नाफा ४९.४५ प्रतिशतले बढ्दै ५७ अर्ब ४ करोड ५५ लाख ११ हजार रुपैयाँले थपिएको देखिन्छ।
यसभन्दा अघिल्ला वर्षहरूमा राष्ट्र बैंकको नाफा क्रमश २०७९/८० ८७ मा अर्ब ६० करोड ३७ लाख रुपैयाँ, २०७८/७९ मा ६० अर्ब ९८ करोड ७ लाख रुपैयाँ र २०७७/७८ मा ३० अर्ब ४७ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी १०.२४ प्रतिशतले बढेर ८७ अर्ब ३० करोड ९७ लाख ७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम ७९ अर्ब ३१ करोड ६५ लाख ३२ हजार रुपैयाँ थियो।
त्यस्तै, बैंकले शुल्क तथा कमिशनमार्फत १ करोड ८१ लाख ६२ हजार रुपैयाँ, गोल्ड सर्टिफिकेटबाट ५३ करोड ७१ लाख ५६ हजार रुपैयाँ, अन्य स्रोतबाट ९९ करोड ७० लाख ७२ हजार रुपैयाँ र खुद अन्य आम्दानीमार्फत १ अर्ब ४० करोड २० लाख ६५ हजार रुपैयाँ आम्दानी गरेको छ। कुल सञ्चालन आम्दानी ८८ अर्ब ४६ करोड ७४ लाख ७९ हजार रुपैयाँ पुगेको छ।
खर्चतर्फ, कर्मचारी तलब तथा सुविधा मदमा मात्रै ५ अर्ब ६ करोड ३३ लाख ६१ हजार रुपैयाँ व्यय भएको छ। त्यसैगरी नोट छपाइ खर्च ७७ करोड ३६ लाख ५ हजार रुपैयाँ, प्रशासनिक खर्च १ अर्ब ६६ करोड २६ लाख ८७ हजार रुपैयाँसहित कुल खर्च ७ अर्ब ९८ करोड ४८ लाख २९ हजार रुपैयाँ पुगेको छ।
५ अर्ब रुपैयाँ पुँजी रहेको राष्ट्र बैंकले ६ खर्ब ७६ अर्ब २ करोड ६३ लाख २३ हजार रुपैयाँ बराबरको रिजर्भ कायम गरेको छ। गत असारसम्म बैंकको कुल सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको उल्लेख गरिएको छ।
केन्द्रीय बैंकले विभिन्न कोषमा विनियोजन गर्नुपर्ने रकम व्यवस्थापन गरी बाँकी ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ।

