काठमाडौं । नेपालमा एचआईभी संक्रमितको संख्या पछिल्ला वर्षहरूमा घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ। विश्व एड्स दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले अनुमान भन्दा संक्रमण कम देखिन थालेको जानकारी दिएका हुन्।
उनका अनुसार सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित रहेका छन्। सरकारी तथ्यांकअनुसार कुल संक्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २ सय ७९ जना छन्। तीमध्ये १४ हजार महिलाहरू रहेका छन्। डा. शर्माका अनुसार १५ वर्षभन्दा माथिका पुरुष संक्रमितको संख्या १९ हजार २ सय ७९ र एक हजार ५८ जना बालबालिका एचआईभी पोजेटिभ रहेका छन्।
उनीका अनुसार अझैपनि दैनिक दुई जना नयाँ संक्रमित थपिने र दैनिक एकजनाको मृत्यु हुने अवस्थाले चुनौती भने कायम छ। नेपालले सन् २०३० सम्म एड्सको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ। यसका लागि ९५ प्रतिशत संक्रमितलाई आफ्नो संक्रमणबारे जानकारी गराउने, ९५ प्रतिशतलाई उपचारमा पहुँच पुर्याउने र ९५ प्रतिशतको भाइरल लोड कम गराउने लक्ष्य अघि सारिएको छ।
डा. शर्माले आगामी एक वर्षभित्र एचआईभी विरुद्धको नयाँ रणनीति बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

