२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि मेयरले...

सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि मेयरले लगाए नगरपालिका र वडा कार्यालयमा ताला

सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि मेयरले लगाए नगरपालिका र वडा कार्यालयमा ताला

सोमवार, आश्विन १२ २०८३११:५०
सोमवार, आश्विन १२ २०८३११:५०
  • images

    महोत्तरी । सरकारले प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नगरेपछि महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले नगरपालिका कार्यालयसहित ९ वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

    नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि मेयर साहले यसअघि तीन दिनभित्र अधिकृत हाजिर नभए अतिआवश्यक सेवाबाहेकका सम्पूर्ण कामकाज बन्द गर्ने चेतावनी दिएका थिए। उक्त अल्टिमेटम सकिएपछि उनले सोमबार आफैं नगरपालिका र सबै वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय तह कर्मचारी प्रशासन शाखाले गत भदौ १ गते खिमराज भुसाललाई भंगहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो। तर, मन्त्रालयको पत्र आएको लामो समय बितिसक्दा पनि भुसाल कार्यालयमा हाजिर नभएको मेयर साहले बताएका छन्।

    प्रमुख प्रशासकीय अधिकृत पठाउन आफू पटक–पटक मन्त्रालय धाएर आग्रह गरे पनि समस्या समाधान नभएको साहको गुनासो छ। मन्त्रीलाई भेटेर समस्या राख्न खोज्दा भेट नपाएको र स्वकीय सचिवमार्फत पनि समस्या समाधानका लागि पहल गर्दा सुनुवाइ नभएको उनले बताए।

    प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको प्रशासनिक तथा वित्तीय काम ठप्पजस्तै भएको मेयर साहको भनाइ छ। कर्मचारी तथा जनप्रतिनिधिको तलब–भत्ता भुक्तानी, विकास निर्माणका योजना सञ्चालन तथा नियमित सेवा प्रवाहमा समेत समस्या भएको उनले बताए।

    दसैँ नजिकिँदै गर्दा कर्मचारीलाई तलब खुवाउनसमेत समस्या हुने अवस्था आएपछि सरकारको ध्यानाकर्षण गराउन तालाबन्दी गर्नुपरेको साहले बताएका छन्।

    तालाबन्दी गरेपछि नगरपालिका कार्यालयका साथै वडा कार्यालयहरूको चाबी मेयर साहले महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन्।

    नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत तत्काल हाजिर गराई प्रशासनिक, वित्तीय तथा नियमित सेवा प्रवाह सुचारु गर्न सम्बन्धित मन्त्रालयसँग माग गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend