काठमाडौँ । एसियाका विभिन्न मुलुकमा आएको भीषण वर्षा, बाढी र पहिरोका कारण पछिल्लो एक सातामा १,१०० जनाभन्दा बढीले ज्यान गुमाएका छन्। दक्षिण र दक्षिणपूर्वी एसियाभरि जारी अविरल वर्षाले इन्डोनेसिया, श्रीलंका, थाइल्यान्ड र मलेसियामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। सयौं मानिस अझै बेपत्ता छन् भने लाखौं बासिन्दा बाढीपीडित भएर अस्थायी शिविरमा बस्न बाध्य भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इन्डोनेसियाको सुमात्रा क्षेत्रमा चक्रवातले उत्पन्न गरेको विनाशकारी बाढी–पहिरोले सबभन्दा धेरै क्षति पुगेको छ। यहाँ मात्रै ६०४ जनाको मृत्यु भइसकेको र ४६० भन्दा बढी हराइरहेका छन्। घना वन, ज्वालामुखी र दुर्गम बस्तीका कारण उद्धार कार्य अझै चुनौतीपूर्ण बनेको छ। धेरै प्रभावित क्षेत्र हेलिकोप्टरमार्फत राहत पुर्याउनुपर्ने स्थिति छ।
त्यस्तै, श्रीलंकामा ‘दित्वा’ चक्रवातका कारण ३९० जनाको मृत्यु भएको र ११ लाखभन्दा बढी मानिस प्रत्यक्ष प्रभावित भएका छन्। २५ हजारभन्दा बढी घर पूर्ण रुपमा नष्ट भएका छन् भने १ लाख ४७ हजार नागरिक अस्थायी शिविरमा बसिरहेका छन्। राजधानी कोलम्बो नजिकैका क्षेत्रमा अझै पानी नघटेकाले उद्धार र राहत वितरणमा कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन्।
थाइल्यान्डको दक्षिणी भूभागमा १७६ जनाको मृत्यु भएको छ। करिब २८ लाख मानिस प्रभावित भएका छन् र धेरै स्थानमा ३०० वर्षमा एकपटक मात्र हुने खालको वर्षा भएको सरकारी निकायहरूको भनाइ छ। बाढीमा फसेका बिरामीहरूलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा सारिने क्रम जारी छ।
मलेसियामा शुक्रबार आएको शक्तिशाली तुफानका कारण २ जनाको मृत्यु भएको छ र हजारौं मानिस विस्थापित भएका छन्। केही क्षेत्र डुबानमा परेपछि वृद्धवृद्धाले समेत खेतमै फसिनुपर्ने अवस्था आएको स्थानीयहरूले बताएका छन्।
मौसम विज्ञका अनुसार विश्वव्यापी तापक्रम वृद्धिका कारण समुद्रको सतह असामान्य रूपमा तातिरहेको छ, जसका कारण समुद्री आँधी र वर्षाको तीव्रता बढ्दै गएको देखिन्छ। दक्षिण र दक्षिणपूर्वी एसिया जलवायु परिवर्तनका प्रभावका हिसाबले संवेदनशील क्षेत्र भएकाले यस्ता प्राकृतिक प्रकोप दोहोरिन सक्ने चेतावनी विज्ञहरूले दिइरहेका छन्।
उद्धार तथा राहत कार्य जारी रहे पनि भीषण वर्षा नरोकेका कारण प्रभावित मुलुकहरू अझै उच्च जोखिममा रहेको जनाइएको छ।

