काठमाडौँ । साविक विजेता जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पाँचौँ खेलमा आएर पहिलो जित दर्ता गर्न सफल भएको छ। मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजनमा जितको खाता खोलेको हो।
लगातार चार खेलमा हार व्यहोरेको जनकपुरले यस जितसँगै प्लेअफ सम्भावनालाई जीवित राखेको छ। जनकपुरले अब लिग चरणमा लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ। प्लेअफ यात्रा कायम राख्न जनकपुरले बाँकी दुवै खेल जित्नुपर्नेछ भने अन्य टिमको नतिजामा पनि भर पर्नेछ।
यसअघि जनकपुर काठमाडौँ गोर्खाजसँग पाँच विकेट, विराटनगर किङ्ग्ससँग नौ रन, पोखरा एभेन्जर्ससँग २५ रन र सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो। पाँचौँ खेलमा चितवनमाथि जित हासिल हुँदा जनकपुरले आत्मविश्वास उठाएको छ।
उता जनकपुरसँग हार व्यहोरेसँगै चितवन राइनोजको प्लेअफ यात्रा थप जटिल बनेको छ। मिश्रित प्रदर्शन गर्दै आएको चितवनले अब बलियो टिम सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग निर्णायक खेल खेल्न बाँकी छ। प्लेअफ प्रवेश कायम राख्न चितवनले दुवै खेल अनिवार्य जित्नुपर्नेछ।
चितवनले हालसम्म पाँच खेलबाट दुई जित र तीन हारसहित ४ अंक जोडेको छ। टोलीले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले हार बेहोरेको थियो। तेस्रो खेलमा विराटनगर किङ्ग्सलाई ४८ रनले पराजित गरे पनि चौथो खेलमा काठमाडौँ गोर्खाजसँग ५३ रनले पराजित हुनुपरेको थियो।
एनपीएलको लिग चरण अब निर्णायक चरणतिर उन्मुख हुँदै गर्दा जनकपुर र चितवन दुवैका बाँकी खेल सिजनको भविष्य निर्धारण गर्ने मानिएको छ।

