२०८३, आश्विन १९ गते

images
  • रोचक
  • एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला...

एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

बुधवार, मंसिर १७ २०८२०८:०९
बुधवार, मंसिर १७ २०८२०८:०९
  • images
    काठमाडौँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् । 
     
    सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ । 
     
    बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष १६ लाख ५० हजारको सुन्तला बिक्री गरेको बताए । सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहेका उनले सुन्तला खेतीबाट मनग्य आम्दानी हुँदै आएको उल्लेख गर्दै गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री भएको जानकारी दिए । 
     
    कालबहादुर रानाले आफूले चार लाखको सुन्तला बिक्री गरेको सुनाए । उत्पादन भएका सुन्तला बिक्रीका लागि कुनै समस्या नरहेको उनको भनाइ छ । उनले भने, “ठेकेदार नै गाउँसम्म आउँछन्, सुन्तला बगानको मोलमोलाइ गरेपछि बोट किन्ने, टिप्ने, ढुवानी गर्ने सम्बन्धित ठेकदारले नै गर्छन् ।”
     
    स्थानीय मनसिंह थापाले अन्य खेतीभन्दा सुन्तलाखेती गर्न सहज र मनग्य आम्दानी हुने गरेको बताए । उनले भने, “प्रत्येक वर्ष मङ्सिर महिनाभर बेनीकोट गाउँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ हुन्छ ।” थापाले यस वर्ष दुई लाख १० हजारको सुन्तला बिक्री गरे । 
     
    भिरालो सडक रहेको र सडकको स्तरोन्नति नहुँदा सदरमुकामबाट नजिकै भए पनि सुन्तला ढुवानीमा समस्या भोग्नुपरेको व्यवसायी लेखबहादुर थापाले बताए । उनले भने, “अहिले दैनिक पाँच वटासम्म गाडीमा सुन्तला बजार पु¥याउने गरिएको छ । जोखिमपूर्ण बाटो भएकाले असहज भने छ ।”
     
    बेनीकोटमा एउटा किसानले न्यूनतम २० देखि ८०० सम्म वटासम्म सुन्तलाका बोट लगाएका छन् । यहाँको सुन्तला काठमाडौँ, चितवन, पोखरासम्म पुग्ने गरेको छ । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका किसानको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले किसान यतिबेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend