काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले विश्वासिलो वातावरण तयार गरेपछि मात्रै निर्वाचन हुन सक्ने बताएका छन्।
एमालेनिकट प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै पौडेलले वातावरण नबनाई “चुनाव–चुनाव मात्रै भन्नु व्यावहारिक नभएको” टिप्पणी गरे।
उनका अनुसार बहुदलीय व्यवस्थाका आधार बनेका पार्टीका नेताहरूलाई अपमान, दबाब र सीमित पारेर चुनाव सम्भव हुँदैन।
“दलहरूले निर्वाध सहभागिता जनाउन शान्ति–सुरक्षाको प्रबन्ध आवश्यक छ। खोसिएका हतियार नखोजी कसरी चुनावको वातावरण तयार हुन्छ?” उनले प्रश्न गरे।
पौडेलले सरकारलाई चुनावप्रति प्रतिबद्ध नभएको आरोप लगाउँदै भने, “एमाले चुनावविरोधी छैन। चुनावमा नजाने भन्ने कुरा छैन। तर सरकार चुनाव गराउने बाटोमा हिँडेको छैन।”

