एजेन्सी । गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ । प्रहरीको शंकाअनुसार आगो सिलिन्डर विस्फोटका कारण लागेको हो ।
उत्तर गोवाको अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा भएको घटनामा केही पर्यटक पनि परेका छन् । ज्यान गुमाउने अधिकांश व्यक्ति क्लबका कर्मचारी रहेको बताइएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार, गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकहरूमध्ये अधिकांश नाइट क्लबका भान्से कर्मचारी रहेको बताएका छन् । मृत्यु हुनेहरूमा तीन महिला छन् ।
प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र राष्ट्रपति द्रौपदी मर्मुले यस घटनामा शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन्, 'गोवाको अर्पोरा क्षेत्रको घटनाले गहिरोसँग दुखाएको छ । ती सबैको परिवारसँग मेरो समवेदना छ, जसले आफ्ना प्रियजनलाई गुमाएका छन् । म घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । मैले गोवाका मुख्यमन्त्री डा प्रमोद सावन्तसँग स्थितिबारे कुरा गरेको छु । राज्य सरकार प्रभावितहरूलाई सबै सम्भव सहयोग प्रदान गर्दैछ ।'
प्रधानमन्त्री कार्यालयले घटनामा मृतक र घाइतेहरूको लागि सहयोगको घोषणा गरेको छ ।

