काठमाडौं । विद्यार्थी नेता सरिफ उस्मान हादीको उपचारका क्रममा मृत्यु भएपछि बंगलादेशमा फेरि हिंसा भड्किएको छ। राजधानी ढाका सहित देशका विभिन्न सहरमा विरोध प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका छन्।
बीबीसी बंगलाका अनुसार हादीको निधनको खबर सार्वजनिक हुनासाथ ढाकाका धेरै क्षेत्रमा आक्रोशित प्रदर्शनकारी सडकमा उत्रिएका थिए। उनीहरूले पार्टी कार्यालय, सञ्चारमाध्यमका भवन तथा सांस्कृतिक संस्थामाथि आक्रमण गरेका छन्।
सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध भएको विद्यार्थी आन्दोलनका प्रमुख नेता हादी गत शुक्रबार आगामी फेब्रुअरी १२ का लागि घोषित आम चुनावको प्रचारका क्रममा गोली प्रहारबाट घाइते भएका थिए। ढाका–८ निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रचार गरिरहेका उनलाई मस्जिदबाट निस्कने क्रममा गोली लागेको थियो।
टाउकोमा गम्भीर चोट लागेका हादीलाई उपचारका लागि डिसेम्बर १५ मा हेलिकप्टरमार्फत सिंगापुर लगिएको थियो। त्यहाँ उपचारकै क्रममा बिहीबार उनको मृत्यु भएको हो।
हादी शेख हसिनाविरोधी ‘इन्कलाब मञ्च’का सदस्य थिए। उनको मृत्युपछि ढाकास्थित प्रथम आलो र डेली स्टार पत्रिकाका कार्यालय, धानमण्डी–३२ मा रहेको शेख मुजिबुर रहमानको घर तथा छायानाट संस्कृति भवनमा आक्रमण, तोडफोड र आगजनी भएको बताइएको छ। चटगाउँ, राजशाहीलगायत अन्य क्षेत्रहरूमा पनि यस्तै घटनाहरू भएको जनाइएको छ।
बिहीबार मध्यराततिर सयौँ प्रदर्शनकारीले प्रथम आलो र त्यसपछि डेली स्टारको कार्यालयमा आक्रमण गरेका थिए। घटनाका क्रममा केही पत्रकार भवनभित्र फसेका थिए। पछि सेना, प्रहरी र बीजीबीको सहयोगमा उनीहरूको उद्धार गरिएको थियो।
विद्यार्थी आन्दोलन चर्किएपछि शेख हसिनाले सन् २०२४ अगस्ट ५ मा सत्ता छाड्दै भारत प्रस्थान गरेकी थिइन्। हाल बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार सञ्चालनमा छ, जसले आगामी फेब्रुअरी १२ का लागि आम चुनावको घोषणा गरिसकेको छ।

