काठमाडौँ । चितवनको सौराहामा शुक्रबारदेखि १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुँदैछ । क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजनामा महोत्सव हुन लागेको हो ।
महोत्सव उद्घाटनको अघिल्लो दिन अर्थात बिहीबार सौराहमा हात्तिको अध्यास गरिएको छ ।
आयोजकका अनुसार महोत्सव अवधिभर करिब ८० वटा हात्तीको सहभागिता रहनेछ । हात्ती शोभायात्रा, सांस्कृतिक झाँकी, हात्ती सजावट प्रदर्शन, हात्ती भोजन कार्यक्रम, हात्ती स्वास्थ्य शिविर, हात्तीमैत्री खेल, स्थानीय स्तरका खेलकुद प्रतियोगिता, सफारी पर्यटन प्रवर्द्धन कार्यक्रम तथा मानव–वन्यजन्तु सहअस्तित्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम महोत्सवका प्रमुख आकर्षण रहनेछन् ।
महोत्सवको अवसरमा पुस ११ देखि १३ गतेसम्म सौराहाका होटल तथा रेस्टुरेन्टहरूमा खाना र आवासमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवका कारण प्रत्येक वर्ष २५ देखि ३० प्रतिशतसम्म पर्यटक आगमन वृद्धि हुँदै आएको आयोजकले जनाएको छ ।
विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्रको पर्यटन प्रवर्द्धन, मानव र वन्यजन्तुबीचको सहअस्तित्व, संरक्षण चेतना र दिगो पर्यटन विकास महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ । सन् १९९७ देखि निरन्तर आयोजना हुँदै आएको यस महोत्सवले चितवनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । फोटो: निराजन अधिकारी/सीएनएन खबर

