काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितालाई बलियो र सशक्त बनाउँदा सरकार समेत जिम्मेवार हुँदै जाने भनाइ राखेका छन् ।
काउन्सिलको आयोजनामा भएको ‘मिडियामा युटयुबसहित सामाजिक सञ्जालको प्रभाव’ विषयक कार्यक्रममा बोल्दै आज उनले हरेक पत्रकारले सत्यतथ्य समाचार प्रकाशन तथा प्रसारण गर्दा सरकार समेत हरेक क्षेत्रमा जिम्मेवार बन्दै जाने भनाइ राखेका हुन् ।
उनले भने, ‘हरेक कुशल पत्रकारले समुदाय –समुदायस्तरमा छिरेर त्यहाँका महत्वपूर्ण समाचार तयार गर्न अतिनै आवश्यक देखिएको छ ।” पत्रकारको धर्म भनेको सिर्जनात्मकताका साथै रचनात्मकतामा समेत ध्यान दिनु रहेको बस्नेतले औँल्याए ।
हालको वर्तमान अवस्थामा सामाजिक सञ्जालको बढ्दो प्रभावको कारण देखाउँदै उनले समाचार भनेको के हो ? पत्रकार भनेका को हुन ? र उनीहरुको जिम्मेवारी के कस्तो रहन्छ भनी मन्न गर्दै अघि बढ्न समेत आग्रह गरे ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले युटयुबको प्रयोग तथा आवश्यकता र महत्वका बारेमा पत्रकारलाई जानकारी गराए ।
मिडिया अनुसन्धानकर्ता शुभेच्छा विन्दुले पत्रकार आचारसंहिता अन्तर्गतका निर्देशिका र सोको प्रावधान बोरेमा जानकारी प्रदान गरी आफ्नो धर्म निर्वाहमा अघि बढ्न पत्रकारलाई अनुरोध गरिन् ।
प्रेस चौतारी नेपाल ललितपुरका अध्यक्ष बि.एम आचार्यले युटयुब नेपाल भित्रनै दर्ता गर्ने प्रक्रियाको शुरुआत गर्न सकेमा गलत सामाग्री तयार गर्ने माध्यलाई नियमन गर्न सहज हुने विचार व्यक्त गरे ।
प्रेस यूनियन ललितपुरका अध्यक्ष केदारनाथ दाहालले नेपालमा युटयुब दर्ताका लागि कस्तो प्रकृया अघि बढिरहेको छ भन्ने जिज्ञासा राखे ।
पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले ललितपुरमा पत्रकारिता गरिरहेका पत्रकारका लागि सो कार्यक्रम एकदमै महत्पूर्ण सावित भएको भनाइ राखे ।
महासंघ ललितपुरका पूर्व अध्यक्ष प्रभुनारायण बस्नेतले विगतमा आफूहरुले पत्रकारिता गर्दा सम्बन्धीत स्थानमै गएर गर्नुपर्ने स्मरण गर्दैै हाल समाजिक सञ्जालको बढ्दो प्रभावका कारण घटना भएको क्षणभरमै सूचना बाहिर आउने भएकाले तथ्य र पुस्टयाईका आधारमा वास्तविकता बुझेर समाचार तयार गर्न अनुरोध गरे ।

