काठमाडौं । चीनले सन् २०२६ जनवरी १ देखि ९३५ प्रकारका वस्तुमा आयात शुल्क घटाउने घोषणा गरेको छ। चीनको राज्य परिषदअन्तर्गत कस्टम्स ट्यारिफ कमिसनका अनुसार ती वस्तुमा लाग्ने आयात शुल्क दर सबैभन्दा अनुकूल राष्ट्र (एमएफएन) दरभन्दा कम हुनेछ।
चीन सरकारले यस कदमलाई घरेलु र अन्तर्राष्ट्रिय बजारबीच समन्वय मजबुत बनाउने, स्रोतसाधनको प्रभावकारी उपयोग गर्ने तथा उच्च गुणस्तरका वस्तुको आपूर्ति विस्तार गर्ने रणनीतिका रूपमा अघि सारेको छ। विशेष गरी केही महत्वपूर्ण कम्पोनेन्ट र उच्च प्रविधिका सामग्रीमा कर घटाइनेछ, जसले प्राविधिक आत्मनिर्भरता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, केही प्राकृतिक स्रोतमा आयात शुल्क घटाएर हरित विकासलाई प्रोत्साहन गरिने चीनले जनाएको छ। स्वास्थ्य क्षेत्रमा प्रयोग हुने विभिन्न सामग्रीमा पनि कर कटौती गरिनेछ, जसबाट जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
चीनले ट्यारिफ हेडिङ तथा राष्ट्रिय उप–हेडिङ नोटहरू सुधार गर्ने योजना समेत सार्वजनिक गरेको छ। स्मार्ट बायोनिक रोबोट, बायो–एभिएसन केरोसिनजस्ता नयाँ उत्पादनका लागि नयाँ उप–हेडिङ थपिनेछ।
यसका साथै, चीनले आफ्ना ३४ व्यापारिक साझेदार मुलुकसँग भएका सम्झौताअनुसार पूर्वनिर्धारित शुल्क दर लागू गर्न निरन्तरता दिनेछ। ४३ अत्यन्त कम विकसित मुलुकका लागि सतप्रतिशत शून्य आयात शुल्क सुविधा पनि यथावत् रहने जनाइएको छ।

