काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप र कर्जा प्रवाहमा बागमती प्रदेशको हिस्सा सबैभन्दा ठूलो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययनसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म कुल निक्षेपको ६५ दशमलव ८ प्रतिशत र कर्जा प्रवाहको ५९ दशमलव ५ प्रतिशत बागमती प्रदेशमै केन्द्रित रहेको छ।
गत आर्थिक वर्षसम्म बैंक तथा वित्तीय संस्थाले कुल ७२ खर्ब ९५ अर्ब ६९ लाख रुपैयाँ बराबर निक्षेप सङ्कलन गरेका छन्। यसमध्ये बागमती प्रदेशबाट मात्रै ४७ खर्ब ९७ अर्ब ५९ करोड रुपैयाँ बराबर निक्षेप सङ्कलन भएको छ।
अन्य प्रदेशतर्फ कोशीबाट पाँच खर्ब ५३ अर्ब, मधेसबाट चार खर्ब सात अर्ब, गण्डकीबाट छ खर्ब १२ अर्ब, कर्णालीबाट ९१ अर्ब र सुदूरपश्चिमबाट एक खर्ब ७३ अर्ब रुपैयाँ बराबर निक्षेप सङ्कलन भएको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, २०८२ असार मसान्तसम्म कुल ५५ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा प्रवाह हुँदा बागमती प्रदेशमा मात्रै ३३ खर्ब २३ अर्ब रुपैयाँ बराबर कर्जा लगानी भएको छ। कर्जा प्रवाहमा कोशी प्रदेश दोस्रो स्थानमा रहेको छ, जहाँ छ खर्ब १३ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ।
मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्रमशः चार खर्ब ९५ अर्ब, तीन खर्ब ५६ अर्ब, पाँच खर्ब ७७ अर्ब, ६२ अर्ब र एक खर्ब ५७ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ।
प्रतिवेदनअनुसार कृषि क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ०४ प्रतिशतले घटेर तीन खर्ब ३६ अर्ब रुपैयाँमा सीमित भएको छ।
कृषि कर्जामध्ये सबैभन्दा धेरै पशुपालन तथा पशु बधशाला शीर्षकमा ६१ अर्ब रुपैयाँ र सबैभन्दा कम सुर्ती उत्पादनमा २० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। कृषि कर्जामा पनि बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६ दशमलव २ प्रतिशत रहेको छ।
यस्तै, औद्योगिक क्षेत्रमा १६ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन कुल कर्जाको ३० दशमलव ४२ प्रतिशत हो। औद्योगिक कर्जामध्ये ७१.३ प्रतिशत बागमती प्रदेशमै केन्द्रित रहेको छ।
सेवा क्षेत्रमा भने २१ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन कुल कर्जाको ३९ दशमलव एक प्रतिशत हो। सेवा क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापारमा सबैभन्दा बढी कर्जा प्रवाह भएको छ। यस क्षेत्रमा पनि बागमती प्रदेशको हिस्सा ५९ दशमलव पाँच प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

