काठमाडौँ । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरो पहिलोपटक अमेरिकी अदालतमा उपस्थित भएका छन्। संघीय लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’सम्बन्धी आरोपमा अदालतमा पेश गरिएका मादुरोले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन्।
बीबीसीका अनुसार न्यूयोर्कस्थित संघीय अदालतमा उपस्थित हुँदा मादुरोले न्यायाधीशसमक्ष अहिले पनि आफू भेनेजुएलाको वैध राष्ट्रपति रहेको बताएका छन्। अदालतमा उनले भने, “म निर्दोष छु। म दोषी होइन। म राम्रो मान्छे हुँ र आफ्नो देशको राष्ट्रपति हुँ।”
अदालतले मादुरोको मुद्दामा आगामी मार्च १७ मा अर्को सुनुवाइ हुने जनाएको छ।
लामो कानुनी संघर्षको सुरुआत
लागूऔषध तस्करीको आरोपमा अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासबाट पक्राउ गरी मादुरोलाई न्यूयोर्क ल्याएको बताइएको छ। सोमबार उनलाई नीलो जेल पोशाकमा पत्नीसमेतसँगै अदालतमा उपस्थित गराइएको थियो।
यो प्रारम्भिक सुनुवाइ भए पनि मादुरोमाथि अमेरिकामै मुद्दा चलाउन सकिने–नसकिने विषयमा लामो कानुनी लडाइँ सुरु हुने संकेत गरेको बीबीसीले उल्लेख गरेको छ। यी आरोपहरू पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मादुरोलाई पक्राउ गरी अमेरिका ल्याउन कानुनी आधारका रूपमा प्रयोग गरेको बताइएको छ।
ब्रुकलिनस्थित डिटेन्सन सेन्टरमा राखिएका मादुरो
हाल मादुरोलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर ९एमडीसी० मा राखिएको छ। सन् १९९० को सुरुवातमा स्थापना भएको उक्त कारागारमा करिब १ हजार ३०० कैदी छन्। म्यानह्याटन र ब्रुकलिनका संघीय अदालतमा मुद्दा खेपिरहेका अभियुक्तहरूलाई प्रायः यहीँ राखिने गरिन्छ।
यसअघि पनि राखिएका छन् पूर्व राष्ट्रपति
मादुरो उक्त डिटेन्सन सेन्टरमा राखिने पहिलो राष्ट्रपति भने होइनन्। यसअघि होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओरल्यान्डो हर्नान्डेज पनि यहीँ थुनामा राखिएका थिए। उनीमाथि सयौँ टन कोकिन तस्करीको अभियोग लागेको थियो। दोषी ठहर भई ४५ वर्षको सजाय सुनाइएपछि गत डिसेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी दिएर उनलाई रिहा गरेका थिए।
हाल यही कारागारमा मेक्सिकोको सिनालोआ ड्रग कार्टेलका सह–संस्थापक इस्माइल ‘एल मायो’ जाम्बाडा गार्सिया तथा युनाइटेडहेल्थकेयरका सीईओको हत्या अभियोगमा पक्राउ परेका लुइगी मान्जियोनी पनि थुनामा छन्। यसअघि क्रिप्टो उद्यमी साम बैंकम्यान–फ्राइड र जेफ्री एपस्टिनकी सहयोगी गिस्लेन म्याक्सवेल पनि यही कारागारमा राखिएका थिए।

