२०८३, आश्विन १९ गते

images
  • समाचार
  • एसबिआई बैंक लुटपाट प्रकरणः घरबेटीको योजनामा...

एसबिआई बैंक लुटपाट प्रकरणः घरबेटीको योजनामा असोजबाट तयारी, काठमाडौँबाट गएका थिए लुटेरा

एसबिआई बैंक लुटपाट प्रकरणः घरबेटीको योजनामा असोजबाट तयारी, काठमाडौँबाट गएका थिए लुटेरा

शुक्रवार, माघ २ २०८२०२:३१
शुक्रवार, माघ २ २०८२०२:३१
  • images

    काठमाडौँ । घ्याङलेखस्थित एसबिआई बैंक लुटपाटमा संलग्न सातैजना पक्राउ परेका छन् । पुस २९ गते भएको तीन करोड लुटपाटमा घरधनीसहितका व्यक्ति संलग्न रहेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।


    प्रहरीले २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँसहित लुटपाट गर्ने सबैलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, साविक उग्रतारा जनगाल गाविस– २ घर भई हाल बनेपा नगरपालिका– १० बस्ने ४२ वर्षीय भागवतसिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका– २ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन, भरतपुर महानगरपालिका– २ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट, पञ्चकन्या गाउँपालिका– ५ का २३ वर्षीय मिलन गिरी, त्यहीँका १९ वर्षीय विवेक मगर, सिन्धुली, घ्याङलेख– २ का ४४ वर्षीय छविलाल स्याङ्तान र परिवर्तित ३१ जिल्ला बस्ने १६ वर्षीय परिवर्तित नाम ०८२–०८३ सिन्धुली छन् ।

    उनीहरुले पुस २९ गते अन्दाजी राति साढे ७ बजेको समयमा घ्याङलेख– २ हायुटार स्थित एसबिआई बैंकको शाखा कार्यालयमा लुटपाट गरेका थिए । घटनामा ५६ जनाको समूह संलग्न रहेको प्रहरीले जनाएको छ । गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीहरुलाई नियन्त्रणमा लिई उनीहरुले खुकुरी प्रहार गरेका थिए । गार्ड कार्कीलाई सामान्य घाइते बनाएपछि मुखमा पट्टी बाँधेर लुटपाट गरेका थिए ।

    घटनास्थलबाट करिब २ किलोमिटर पूर्व लिपिखोलामा टाटा सुमो र चालक भागवतसिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । काभ्रेबाट विवाहमा जानका लागि ६ जनाले गाडी बुक गरेका थिए । २९ गते राती जंगलमा बोरामा लुकाएर राखिएको अवस्थामा १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ फेला परेको थियो ।

    ३० गते बिहान घ्याङलेख– १ सुकाचुरीबाट ४ जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियो । खानतलासी गर्दा उनीहरुको साथबाट ५ लाख ९ हजार छ सय ७५ रुपैयाँ फेला परेको थियो । उनीहरुले घटनामा संलग्न भएको स्वीकारेका थिए । उनीहरुले लुकाएर राखेको ८३ लाख ३५ हजार रुपैंया र घटनामा प्रयोग भएको नकाब, पञ्जा, नक्कली प्लाष्टिकको पेस्तोल थानसहितका सामान प्रहरीले बरामद गरेको छ ।

    घटनामा संलग्न चतुरमान बज्यु र उक्त बैंक रहेको घरधनी छविलाल स्याङ्तानको मुख्य संलग्नता छ । बज्यु स्याङ्ताङका जेठान हुन् । उनले बज्युलाई घ्याङलेखकै जंगलमा लुकाएका थिए । उनीहरुले असोजबाट नै बैंक लुट्ने योजना बनाएका थिए । पुस २३ गते बैंक लुट्न भनी काठमाडौंबाट २ वटा मोटरसाइकल भाडामा लिएका थिए । त्यसमध्येका ४ जना आएको र त्यसदिन परिस्थिति अनुकूल नभएकाले उक्त बैंक लुट्ने योजना बिफल भएको थियो ।

    पुस २८ गते बैंक लुट्ने योजनासहित काठमाडौंबाट जानुपर्ने टोली कोटेश्वरमा जम्मा भएका थिए । तर, एकजनाको जन्मदिन परेकाले भोलिपल्ट, अर्थात् २९ गते कोटेश्वरमा जम्मा भई पब्लिक सवारी साधनमा बनेपा पुगेका थिए । त्यहाँबाट उनीहरुले टाटा सुमो भाडामा लिएका हुन् ।
    बैंक लुटपाट गर्न घरधनी छविलाल स्याङ्तानले आवश्यक हातहतियारको व्यवस्थापन तथा सूचना दिएका थिए ।

    २९ गते साँझको समयमा पक्राउ परेका व्यक्तिले बैंकभित्र छिरेर सुरक्षा गार्ड र बैंकका कर्मचारीहरुलाई नियन्त्रणमा लिएका हुन् । त्यसक्रममा प्लाष्टिकको पेस्तोल देखाई बैंकमा पैसा भएको भल्टको ताल्चा खुलाएका थिए । पैसा बोरा तथा झोला हालेर उनीहरु भागेका थिए । त्यसदिन बैंकले बाट ३ करोड ७ लाख रुपैयाँ लगेको भनी प्रहरीलाई जानकारी गराएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend