काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक गुटबन्दी र नेतृत्व संघर्ष चर्किरहेका बेला महामन्त्री गगन थापाले पार्टीलाई एकढिक्का बनाउने उद्देश्यसहित चुनावी टिकटलाई मेलमिलापको माध्यम बनाएको चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ। पछिल्लो निर्वाचन प्रक्रियामा थापाको लाइनको खुलेर विरोध गरेका नेताहरूसमेत टिकट वितरणमा समेटिएपछि कांग्रेसभित्र नयाँ सन्देश गएको हाे ।
पार्टीभित्र सुधार र पुस्तान्तरणको एजेन्डा लिएर अगाडि बढेका थापा संगठन बलियो बनाउन व्यक्तिगत मतभेदभन्दा पार्टी हितलाई प्राथमिकता दिनुपर्ने निष्कर्षमा पुगेको कांग्रेसका नेताहरू बताउँछन्। यही रणनीतिअनुसार अघिल्लो समय आफ्नै राजनीतिक धारको विरोध गरेका, नेतृत्व शैलीमाथि प्रश्न उठाएका तथा आन्तरिक प्रतिस्पर्धामा उभिएका नेताहरूलाई समेत विभिन्न निर्वाचन क्षेत्रमा टिकट दिलाउन भूमिका खेलेको चर्चा छ।
कांग्रेस स्रोतका अनुसार थापाले “विरोधलाई शत्रुता होइन, प्रतिस्पर्धा” का रूपमा हेर्ने नीति लिएका छन्। यसै कारण पार्टीभित्र असन्तुष्ट मानिएका केही नेताहरूले समेत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट पाएका छन्। तीमध्ये केही नेता यसअघि थापाको संगठन सुधार एजेन्डा र नेतृत्व दाबीका कटु आलोचक थिए।
यो कदमले गगन थापालाई ‘समावेशी र व्यवहारिक नेता’ को रूपमा प्रस्तुत गरेको छ। “आन्तरिक विरोधीलाई पन्छाएर अघि बढ्नेभन्दा पनि समेटेर पार्टी बलियो बनाउने रणनीति दीर्घकालीन हिसाबले लाभदायक हुन्छ,” एक विश्लेषक भन्छन्, “थापाले टिकट वितरणमार्फत यही सन्देश दिन खोजेका छन्।”
यद्यपि, पार्टीभित्रै केही नेताहरूले भने यसलाई सिद्धान्तभन्दा व्यवहारिक राजनीति हावी भएको रूपमा हेरेका छन्। उनीहरूको भनाइमा टिकट वितरण मेलमिलापको नाममा भए पनि त्यसले पार्टीभित्रको वैचारिक स्पष्टता कमजोर बनाउन सक्ने जोखिम छ। तर थापानिकट नेताहरू भने निर्वाचन जित र संगठन विस्तारका लागि यस्तो लचकता अपरिहार्य भएको तर्क गर्छन्।
चुनावी टिकटमार्फत देखिएको यो मेलमिलापले कांग्रेसभित्र तत्कालीन असन्तुष्टि कम गर्न सहयोग पुगेको भए पनि दीर्घकालमा यसले पार्टीलाई कति एकताबद्ध बनाउँछ भन्ने प्रश्न खुलै छ। तर एक कुरा भने स्पष्ट देखिएको छ, गगन थापा पार्टी बलियो बनाउने यात्रामा विरोधीलाई पनि साथमा हिँडाउन तयार देखिएका छन्।

