काठमाडौं । झन्डै चार वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यका साथ संयुक्त अरब इमिरेट्सको आबुधाबीमा दुवै देशबीच ऐतिहासिक शान्ति वार्ता सम्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष पहलमा आयोजित दुई दिने त्रिपक्षीय बैठकले लामो समयपछि रुस र युक्रेनलाई एउटै टेबुलमा ल्याउन सफल भएको छ।
अमेरिकी अधिकारीहरूले यस वार्तालाई शान्तितर्फको एक महत्त्वपूर्ण र सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन्। वार्तापछि दुवै पक्ष आगामी फेब्रुअरी १ तारिखमा दोस्रो चरणको संवादका लागि पुनः भेट्ने सहमतिमा पुगेका छन्।
वार्ताअघि अमेरिकी विशेष दूत जेरेड कुश्नर र स्टिभ विट्कोफले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब चार घण्टा लामो छलफल गरेका थिए। उक्त भेटमा सम्भावित शान्ति योजनाका विभिन्न बुँदामा केन्द्रित रहेर वार्ताको वातावरण तयार पारिएको बताइएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आबुधाबीको संवादलाई रचनात्मक भन्दै युद्ध अन्त्यका लागि महत्त्वपूर्ण छलफल भएको प्रतिक्रिया दिएका छन्।
तर कूटनीतिक पहलसँगै युद्धभूमिको अवस्था भने अझै तनावपूर्ण देखिएको छ। आबुधाबीमा शान्ति वार्ता चलिरहेकै समयमा रुसले युक्रेनका राजधानी किभ र प्रमुख सहर खार्किभका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको छ।
युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले कूटनीतिक प्रयासकै बीचमा गरिएको उक्त आक्रमणलाई रुसी आतङ्कको संज्ञा दिँदै कडा आलोचना गरेका छन्। आक्रमणपछि कठ्याङ्ग्रिँदो जाडो र शून्य डिग्रीभन्दा मुनिको तापक्रममा लाखौँ युक्रेनीहरू बिजुली, पानी र तापविहीन बनेको जनाइएको छ।
यसैबीच युक्रेनले पनि रुसी सीमा क्षेत्र बेल्गोरोडमा जवाफी ड्रोन आक्रमण गरेको छ भने रुसी सेनाले खार्किभ क्षेत्रको स्टारित्स्या गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ।
एकातिर शान्तिको आशा र अर्कोतिर रणमैदानको हिंसा जारी रहँदा रुस–युक्रेनबीचको शान्ति प्रक्रिया अत्यन्त संवेदनशील मोडमा पुगेको विश्लेषकहरूको भनाइ छ।
(स्रोत : द गार्जियन)

