२०८३, आश्विन २० गते

images
  • राजनीति
  • राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूको बिदाइ...

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूको बिदाइ सम्बोधन सोमबारदेखि

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूको बिदाइ सम्बोधन सोमबारदेखि

आइतवार, माघ २५ २०८२११:४०
आइतवार, माघ २५ २०८२११:४०
  • images

    काठमाडौं । राष्ट्रिय सभामा कार्यकाल सकिएर बिदा हुन लागेका सांसदहरूले बिदाइ सम्बोधन गर्ने भएका छन्। फागुन २० गते कार्यकाल सकिने सांसदहरूले सोमबारदेखि संसद् बैठकमा आफ्ना अनुभव र अनुभूति राख्ने कार्यसूची तय भएको छ।

    राष्ट्रिय सभाको चालु अधिवेशन माघ ४ गतेबाट सुरु भएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय सभाको अधिवेशन अन्त्यको तयारी भइरहेको छ। सोही सन्दर्भमा सोमबार बैठक बस्ने तय भएको छ, जहाँ बिदा हुन लागेका सांसदहरूले संसद्‌मा आफ्ना अनुभव साझा गर्नेछन्। यदि सोमबारको बैठकमा बिदाइ सम्बोधनको क्रम पूरा नभए माघ २८ गते बस्ने बैठकमा समेत यसले निरन्तरता पाउनेछ। अर्को बैठक फागुन १ गतेका लागि तय गरिएको संसद् सचिवालयले जनाएको छ।

    संसद् सचिवालयका अनुसार सरकारले तय भएको भन्दा थप बैठक नराख्ने गरी व्यवस्थापन गर्न सन्देश पठाइसकेको छ। सोही निर्देशनअनुसार संसद् सचिवालयले कार्यसूची तय गरेको हो।यस पटक राष्ट्रिय सभाबाट १९ जना सांसदहरूको कार्यकाल सकिँदैछ। तीमध्ये १८ जना निर्वाचित सांसद हुन् भने एक जना मनोनीत सांसद हुन्। मनोनीत सांसद वामदेव गौतमले यसअघि नै राजीनामा दिइसकेका छन्। यस्तै, सांसद नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका छन्। बाँकी १६ जना सांसदहरूले संसद् बैठकमा बिदाइ सम्बोधन गर्नेछन्।

    फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। राष्ट्रिय सभा सदस्यहरू राष्ट्रपतिबाट मनोनीत बाहेक सबै कुनै न कुनै राजनीतिक दलसँग आबद्ध रहेकाले उनीहरू निर्वाचन प्रचार–प्रसारमा सहभागी हुनेछन्। यस कारण राष्ट्रिय सभा सदस्यहरूले समेत अधिवेशन लामो नबनाउनुपर्ने धारणा राख्दै आएका छन्।संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रिय सभाको अधिवेशन अन्त्यका विषयमा सरकारले संसद् सचिवालयसँग परामर्श गरेको छ।

    ‘प्रतिनिधिसभाको निर्वाचन नजिक आइसकेको छ। राष्ट्रिय सभा सदस्यहरू पनि राजनीतिक दलका प्रतिनिधि हुन्। यस्तो अवस्थामा माथिल्लो सदन लामो समय सञ्चालन गर्नु उपयुक्त देखिँदैन,’ प्रवक्ता गिरीले भने, ‘यस विषयमा सरकारसँग अनौपचारिक छलफल भएको छ।’

    प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन एकैसाथ सुरु हुने तयारी गरिएको छ। सरकारले आगामी चैत १ गतेदेखि नयाँ संसद्को अधिवेशन आह्वान गर्ने तयारीसहित संसद् सचिवालयलाई व्यवस्थापन गर्न सन्देश दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend