काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एकै दिन चितवनदेखि बुटवलसम्म १९ स्थानमा पुगेर चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।
लामिछानेको सचिवालयले सार्वजनिक गरेको आजको कार्यतालिकाअनुसार उनले चितवन हुँदै नवलपरासी र बुटवलसम्म जनसम्पर्क तथा सम्बोधन कार्यक्रम तय गरेका छन्। बिहान ११ बजेसम्म उनले आफ्नै निर्वाचन क्षेत्रका विभिन्न स्थानमा भेटघाट र सम्बोधन गरेका छन्।
कार्यतालिकाअनुसार बिहान साढे ८ बजे फिस्लिङ बजार, बिहान ९ बजे चुम्लिङछार, बिहान साढे ९ बजे कुरिनटार मन्दिर, बिहान १० बजे लेवाटार, बिहान साढे १० बजे केबलकार र बिहान ११ बजे मुग्लिङ बजारमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यसपछि उनले नवलपरासीका विभिन्न स्थानमा कार्यक्रम गर्नेछन्। दिउँसो १ बजे जेनजी चोक, सवा १ बजे थुम्सी थोक, साढे १ बजे हर्कपुर चोक, पौने २ बजे १६ नम्बर चोक, दिउँसो २ बजे रहजहर चोक, सवा २ बजे दलदले चोक र पौने ३ बजे कावासोती फलफूल चोकमा भेटघाट तथा सम्बोधन तय गरिएको छ।
दिउँसो ३ बजेसम्म नवलपरासीमा रहने लामिछाने त्यसपछि बुटवलतर्फ प्रस्थान गर्नेछन्। बाटोमा दिउँसो ३ बजे डण्डा बजार, ३ः२५ बजे चोरमारा बजार, अपराह्न पौने ४ बजे आरुङखोला बजार, सवा ४ बजे दुम्किबास बजार र पौने ५ बजे दाउन्ने बजारमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
आजै साँझ साढे ६ बजे बुटवल पुगेर सम्बोधन गर्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपा सभापति लामिछाने चितवन–२ बाट उम्मेदवार रहेका छन्। पार्टीका उम्मेदवारहरूको पक्षमा चुनावी माहोल बनाउन उनी आसपासका जिल्लामा सक्रिय रूपमा दौडधुप गरिरहेका छन्।
खुट्टामा चोट लागेपछि करिब दुई साता उपचारमा बिताएका लामिछाने तीन दिनअघि मात्रै काठमाडौँबाट चितवन फर्किएका हुन्।

