काठमाडौँ । वीर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत लामो समयसम्म सेवन गर्नुपर्ने औषधि अब तीन महिनाको सट्टा एक महिनाका लागि मात्र उपलब्ध गराउने निर्णय गरेको छ।
अस्पताल प्रशासनका अनुसार मिति २०८२ माघ २९ गते बसेको निर्णयअनुसार २०८२ फागुन १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि उक्त प्रावधान लागू गरिनेछ। यसअघि बीमित सदस्यहरूलाई यस्ता दीर्घरोग सम्बन्धी औषधि तीन महिनासम्मका लागि एकैपटक उपलब्ध गराइँदै आएको थियो।
नयाँ व्यवस्थाअनुसार अब बीमित सदस्यहरूले एक महिनाका लागि मात्र औषधि प्राप्त गर्नेछन्। अस्पतालले विशेष कारणवश उक्त निर्णय लिनु परेको जनाएको छ। यद्यपि निर्णयको विस्तृत कारणबारे भने अस्पतालले खुलाएको छैन।
अस्पताल प्रशासनले यस निर्णयबाट सेवाग्राहीहरूमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ। नियमित रूपमा औषधि सेवन गरिरहेका बिरामीहरूलाई अस्पतालमा पटक–पटक उपस्थित हुनुपर्ने अवस्था सिर्जना हुने भएकाले सेवा व्यवस्थापनमा थप चाप पर्ने अनुमान गरिएको छ।
बीमा कार्यक्रमअन्तर्गत सेवा लिँदै आएका दीर्घरोगी बिरामीहरूलाई नयाँ व्यवस्थाबारे जानकारी राख्न तथा आवश्यक परामर्शका लागि सम्बन्धित शाखामा सम्पर्क गर्न अस्पतालले अनुरोध गरेको छ।

