काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउने दाबी गरेका छन्।
आइतबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले नेपालको आगामी निर्वाचनलाई बंगलादेशको पछिल्लो चुनावसँग तुलना गरे। उनका अनुसार बंगलादेशमा आन्दोलनबाट आएको दलले ६ सिट मात्रै जितेको थियो भने पुराना राजनीतिक दलहरू नै बलियो रूपमा स्थापित भएका थिए।
चुनावी अभियानका लागि ओली काठमाडौँबाट आइतबार झापा फर्किएका हुन्। उनी झापा–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। केही दिन काठमाडौँमा राजनीतिक भेटघाटपछि आफ्नो निर्वाचन क्षेत्रमा फर्किएका ओलीले अब मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने, गुनासा सुन्ने र घरदैलो कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए।
ओलीले चुनाव हुने सम्भावना बढेको उल्लेख गर्दै चुनावको वातावरण सरकारले बनाउने जिम्मेवारी रहेको बताए। “अब चुनाव हुन्छ भन्ने ठानेका छौँ,” उनले भने। चुनाव भएमा आफ्नो पार्टी पूर्ण रूपमा सहभागी हुने स्पष्ट पार्दै उनले थपे, “चुनाव हुने भए हामी भाग लिन्छौँ।”

