२०८३, आश्विन २० गते

images
  • स्वास्थ्य
  • दोबागाउँ अस्पतालः बजेट र जनशक्ति नहुँदा...

दोबागाउँ अस्पतालः बजेट र जनशक्ति नहुँदा भवन खण्डहर, सामान्य उपचारका लागि बेनी झर्न बाध्य स्थानीय

दोबागाउँ अस्पतालः बजेट र जनशक्ति नहुँदा भवन खण्डहर, सामान्य उपचारका लागि बेनी झर्न बाध्य स्थानीय

आइतवार, फाल्गुण १० २०८२०७:५८
आइतवार, फाल्गुण १० २०८२०७:५८
  • images

    काठमाडौँ । शिरानमा छ भिरालो जग्गामा गुजुमुज्ज परेको दोबागाउँ । गाउँको पुछारमा उजाड लाग्दो पाखो छ । पाखोको छेउमै छ पहेँलो रङको पक्की भवन । अनकन्टारजस्तो ठाउँमा आकर्षक देखिने त्यो भवन दोवाको पालिकास्तरीय अस्पताल भवन हो ।

    विसं २०७८ मा निर्माण सम्पन्न भएको त्यो भवन बाहिर हेर्दा चिटिक्कको देखिए पनि भित्र खण्डहरजस्तै बनेको छ । कारण हो– अस्पताल सञ्चालनमा आउन नसक्नु । निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि पाँच शय्या क्षमताको सो अस्पतालमा न उपकरण आए, न त चिकित्सक नै । अहिले करोडौँ रुपैयाँ खर्च गरेर बनाएको सो भवन अलपत्र अवस्थामा छ ।

    उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा पर्छ दोवागाउँ । अस्पताल भवनबाट गाउँमा पुग्न गाडीमा १५–२० मिनेट लाग्छ । गाउँदेखि टाढा अपायक ठाउँ । न राम्रो सडक न व्यवस्थित बस्ती । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने नीतिअनुरुप स्थानीयवासीले जग्गादान दिएर निर्माण गरिएको सो अस्पताल दोवावासीका लागि अहिले ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैँ भएको छ ।

    बजेट अभाव र जनशक्ति व्यवस्थापन नहुँदा अस्पताल भवन प्रयोगमा आउन नसकेको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाले बताए । वडाध्यक्ष गर्बुजाका अनुसार चार वर्ष अगाडि निर्माण सम्पन्न भएको पाँच शय्याको पालिकास्तरीय अस्पतालको भवन उपकरण, चिकित्सकसहितको जनशक्ति व्यवस्थापनमा तीनै तहको सरकारको ध्यान नपुग्दा अलपत्र अवस्थामा पुगेको हो ।

    बाह्र रोपनी सात आना दुई दाम क्षेत्रफल रहेको अस्पताल रविना–अमित जेभीले पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का लिई निर्माण गरेको अध्यक्ष गर्बुजाले बताए। अस्पताल निर्माण गर्न स्थानीय सात व्यक्तिले १२ रोपनी सात आनाभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराएको गर्बुजाले बताए ।

    अस्पतालमा अपाङ्गमैत्री भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवास सहित ३५ कोठा छन् । अस्पताल भवन बनेर पनि सञ्चालनमा आउन नसकेपछि सामान्य बिरामी पर्दा पनि उपचारका लागि बेनी धाउनुपरेको अन्नपूर्ण गाउँपालिका–१ दोबाकी मनसरा गर्बुजाले गुनासो गरे ।

    पाँच शय्या क्षमताको भूकम्पप्रतिरोधी भवन निर्माण भए पनि प्रदेश र सङ्घीय सरकारले आवश्यक स्रोतसहितको जनशक्ति व्यवस्थापन गर्न नसकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend