काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले आज जाँचबुझ प्रतिवेदन बुझाएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उल्लेख भएको विषय बाहिर आइसकेको छैन ।
असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् ।
आयोगले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा युवाहरूको ज्यान जानेगरी भएको घटनाबारे १५० जना भन्दा धेरै सरकारी अधिकारीहरू र आन्दोलनका प्रत्यक्षदर्शीहरुसँग बयान लिएको थियो ।
जेनजी आन्दोलन हुँदा केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो । त्यसबेला गृह मन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौँका प्रजिअ छविलाल रिजाल थिए ।
आयोगको प्रतिवेदन भने अहिले सार्वजनिक हुने छैन । मन्त्रिपरिषद्को निर्णयबाट आयोगले गरेको सिफरिस कार्यान्वयनको लागि अख्तियारी दिइनेछ । ‘प्रतिवेदन सार्वजनिक गर्दा कार्यान्वयनमा जटिलता देखिन सक्छ । त्यसैले प्रतिवेदनलाई सार्वजनिक गर्नेभन्दा पनि कार्यान्वयनमा सरकारले लैजान्छ,’ प्रेस सल्लाहकार रामबहादुर रावलले भने ।

